ज्वाइँलाई एसइई दिन लगाउने मेयरमाथि पक्राउ पुर्जी जारी


रौतहट : रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह (कानु) उपर पक्राउ पुर्जी जारी भएको छ।

आफ्नै ज्वाईलाई खेताला राखेर एसइई परीक्षा दिन लगाएका मेयर कानु माथि कारवाही गर्न स्थानीय स्तरबाट आवाज उठ्न थालेपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

गत स्थानीय तहका निर्वाचनमा देवाही गोनाही नगरपालिको नगरप्रमुखमा एमालेको टिकटबाट निर्वाचित भएका कानुले आफ्नै ज्वाईलाई खेतालाको रुपमा प्रयोग गर्दै माध्यमिक शिक्षा परीक्षा एसइई दिन लगाएपछि उनका ज्वाई पक्राउ परेका थिए।

मौलापुर नगरपालिकाको लक्ष्मिनिया परीक्षा केन्द्रमा सिम्बोल नम्वर ३५०३७२८ दिदै गरेको अवस्थामा चैत १९ गते (आइतबार) जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत मणीभूषण साहको नेतृत्वमा खटिएको परीक्षा अनुगमन टोलीले नक्कली परीक्षार्थी कमल साहलाई नियन्त्रणमा लिएको थियो।

मेयरका ज्वाई रेडियो नेपाल बर्दिबासका ईन्जिनियर कमल साहलाई पक्राउ गरेर प्रहरीले म्याद थप गरेर राखेको भए पनि मेयर साह कानुलाई प्रहरी प्रशासनले पक्राउ गर्न ढिला गरेको भन्दै सामाजिक संजालमा प्रहरी प्रशासनको चर्को आलोचना हुँदै आएको थियो।

मेयर कानुको नाम आएकोले उनीमाथि छानबिन गर्नु परेकोले जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक वीरबहादुर बुढा मगरले बताए।

उनका अनुसार मेयर भन्दा पनि उनी परीक्षार्थीको रुपमा देखिएकाले सोही बमोजिमको अनुसन्धान चलिरहेको छ। कानुको साटो एसईई दिँदै गरेको आरोपमा गरुडा नगरपालिका–६ पोठियाहीका कमल साह पक्राउ परेका अहिले प्रहरी नियन्त्रणमा रहेको छ।

साहले प्रहरी अनुसन्धानका क्रममा मेयर प्रेमलाल साहले नै आफूलाई परीक्षा दिन बोलाएको स्वीकार गरेका प्रहरीले जनाएका छन्। मेयरले भरेको परीक्षा फर्म, रजिष्ट्रेशन तथा परीक्षाका अन्य कागजमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।

TOP