सुनकोशीमा बेपत्ता २ जनाको शव भेटियो, एक अझै बेपत्ता


२४ जेठ, काठमाडौं : सुनकोशी नदीमा जेठ १९ गते (शुक्रबार) बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का जिप र दुई कर्मचारीको शव फेला परेको छ।

घटनास्थलबाट करिब दुई सय मिटर तल कोशीको पारितर्फ किनारमा गाडीको अवस्थामा जिप र शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए।

उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टर सुवास थापाको कमान्डको गोताखोरले मंगलबार साँझ सवा ६ बजे सुनकोशीबाट गाडी र दुई वटा शव बाहिर निकालिएको हो। शवको पहिचान हुन सकेको छैन। कोशीको बहाव फर्काएर नदीमा पानी घटाएपछि गाडी र शव भेटिएको हो। एकजना अझै बेपत्ता छन्।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बागमती प्रदेश बी ए बी ७४६७ नम्बरको जिप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका ७ को लौकुनबाट सुनकोशी नदीमा खस्दा सीटीईभीटीका प्रशासन शाखाका निर्देशक तनहुँको भानु ९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति ७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल बेपत्ता भएका थिए।

चालक कृष्ण चौधरी पौडिएर निस्किएका थिए। भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको गाडी सुनकोशी नदीमा खसेको थियो।

TOP