वर्षाको क्रम भोलिसम्म

७ भदौ, काठमाडौं : देशका धेरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा पनि रातिदेखि नै लगातार पानी परिरहेको छ ।

यो क्रम शुक्रबारसम्म नै रहने मौसमविद् गोविन्द झाले जानकारी दिए । लगातारको वर्षासँगै महाकाली नदीमा पानीको बहाव बढेको छ।

डडेलधुरा, कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। काठमाडौं उपत्यकामा दिउँसो एकैछिन पानी पर्न रोकिए पनि पुनः पर्ने मौसमविद् झाले बताए।

शुक्रबार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। शनिबारदेखि भने मौसममा केही सुधार हुने मौसविद् झाले जानकारी दिए।

TOP