मोटरसाइकल दुर्घटनामा गाउँपालिकाका कर्मचारीको मृत्यु


२५ भदौ, बैतडी : महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका ५ सलसेनामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका नगरपालिका २ रौतेउडाका ३० वर्षीय खेमराज कपाडी रहेका बैतडीका निमित्त प्रहरी प्रमुख,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

खेमराज आज दिउँसो करिब साढे १ बजेतिर सलसेना भीरमा से ४ प ३४७५ नम्बरको मोटरसाइकलसहित मृत भेटिएका हुन्। शैल्यशिखर नगरपालिकामा कृषि सहायक प्रावधिकका रहेका कपाडीलाई वडा नम्बर २ मा वडासचिवको जिम्मेवारी दिइएको थियो।

कपाडी आइतबार बिहान डडेल्धुरामा एक तालिममा सहभागी हुनका लागि हिँडेका थिए। घरबाट हिँडेर डडेल्धुरा नपुगेपछि कपाडीको खोजी कार्य गर्दा सोमबार दिउँसो सल्सेना भीरमा मृत भेट्टिएका हुन्।

सडकबाट २०० मिटर तल भीरमा मोटरसाइकल र १५० मिटर तल कपाडी मृत भेटिएका हुन्। मोटरसाइकलमा खेमराज एक्लै सवार रहेका बताइएको छ। अविरल वर्षाका कारण मौसम खराब रहेका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

कपाडी मृत भेटिएपछि इलाका प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थलतर्फ गएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

TOP