समकक्षतामा चारित्रिक प्रमाणपत्र अनिवार्य नगर्न सिफारिस


काठमाडौं : सांसद एवं पूर्वमन्त्री वीरेन्द्रप्रसाद महतोले आफ्नो छोराको समकक्षताको प्रमाणपत्र लिँदा घुस दिनुपरेको विषयमा छानबिन गर्न बनेको छानबिन समितिले चारित्रिक प्रमाणपत्र अनिवार्य नगर्न सुझाव एवं सिफारिस गरेको छ। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा समकक्षताका लागि चारित्रिक प्रमाणपत्रलाई अनिवार्य नगर्न सुझावसहित सिफारिस गरेको हो।

समितिले सरकार र पाठ्यक्रम विकास केन्द्रलाई १७ वटा सुझाव एवं सिफारिस गरेको छ। उक्त १७ नम्बरको सुझावमा भनिएको छ,‘चारित्रिक प्रमाणपत्र अनिवार्य नगर्नेःसमकक्षताका लागि चारित्रिक प्रमाणपत्रलाई समेत अनिवार्य गरिएको छ। कतिपय शैक्षिक निकायले चारित्रिक प्रमाणपत्र प्रदान नगर्ने हुँदा सो नभएमा पनि समकक्षताको प्रमाणपत्रको लागि प्रक्रिया अगाडि बढाउन सक्ने गरी आवश्यक कानुनी प्रबन्ध गर्न उपयुक्त हुन्छ।’

साउन ६ गते प्रतिनिधिसभा बैठकमा सांसद महतोले आफ्नो छोराको समकक्षताको प्रमाणपत्र लिँदा घुस दिनुपरेको सुनाएका थिए। त्यसपछि शिक्षा मन्त्रालयले साउन ८ गते यो विषयमा छानबिन समिति गठन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।

TOP