आन्दोलन केन्द्रित प्रशिक्षण चलाउँदै राप्रपा


काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले रणनीतिक रुपमा आन्दोलन केन्द्रित प्रशिक्षण संचालन गर्ने भएको छ। आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण असोज ८ गते पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्पन्न गरिनेछ।

महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा धवलशम्शेर राणाको नेतृत्वमा राप्रपाले रणनीतिक रुपमा आन्दोलनको तयारी जारी राखेको छ।

काठमाडौं केन्द्रित आन्दोलनका लागि देशभरका वडाबाट २० हजार युवा दस्ता तयार गर्ने क्रममा राजनीतिक, परिचालन र व्यवस्थापनका विषयमा राप्रपाले विशेष प्रशिक्षण आयोजना गर्न लागेको हो।

‘देशमा चौतर्फी संकट र समस्या छ। देशको बीस प्रतिशत जनसंख्या देशबाहिर छ, दैनिक रुपमा २६०० नेपाली देशबाहिर जान्छन्। यस्तो कहालीलाग्दो अवस्थामा समाधानका लागि राप्रपाले नवीन समझदारीको प्रस्तावना अघि सारेको हो। पार्टीको घोषित नीतिअनुरुप आन्दोलन जारी राखेको हो, यसै सिल्सिलामा आन्दोलनकेन्द्रीत प्रशिक्षण आयोजना गरिएको हो,’ राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले भने।

प्रशिक्षणमा सहभागी प्रशिक्षकहरुले देशका ७७ जिल्लामा गएर युवाहरुका लागि प्रशिक्षण संचालन गर्नेछन्। पार्टी स्रोतअनुसार, जिल्लास्तरीय प्रशिक्षण तिहारअगावै सम्पन्न गरिनेछ।

राजसंस्था, सनातन हिन्दू अधिराज्य, प्रदेशी खारेजी, भ्रष्टाचारको अन्त्यलगायत ४० बुँदे माग तथा नवीन समझदारीको प्रस्तावनासहित राप्रपाले सडक संघर्ष जारी राखेको छ।

TOP