वर्षा र डुबानले काठमाडौं महानगरका कुन वडामा कति क्षति?


काठमाडौं : काठमाडौं महानगरपालिकाका वडाहरूले अविरल वर्षामा आएका बाढी घरमा प्रवेश गरेपछि विपदमा परेका महानगरबासीलाई अहिले खाना र अस्थायी बासस्थानको व्यवस्था गरेका छन्। वडा नं. १० ले शनिबार बिहान ४ सय जनालाई खानाको व्यवस्था गरेको थियो।

वडा १० का वडाअध्यक्ष रामकुमार केसीका अनुसार बेलुका ५ सय जनाका लागि व्यवस्था गरेको थियो। ‘अहिले ५ सय जनालाई खानाको प्रबन्ध गरेका छौँ,’उनले भने। के.सी.का अनुसार आज अवस्था सामान्य भइसकेकाले बेलुकाबाट खाना उपलब्ध गराउने कार्यक्रम रोकिनेछ। बागमती नदीले वडा १० का शंखमूल, बुद्धनगर, दोभानलगायत क्षेत्रमा बढी प्रभाव पारेको छ।

बागमती र विष्णुमतीको दोभान रहेको वडा नं. १२ र १४ हो। यसको बढी प्रभाव वडा नं. १४ को बल्खु क्षेत्रमा पर्छ। वडा नं. १४ का अध्यक्ष सुमन श्रेष्ठका अनुसार बल्खुसँगै कुलेश्वर क्षेत्र, फलफूल बजार, खाद्यान्न स्टोर क्षेत्र र करखुशी नदी क्षेत्रमा सबैभन्दा बढी प्रभाव पर्यो‍ वडाले शनिबार बाढी प्रभावित एक सय २५ जनालाई कम्बल वितरण गरेको छ। ४ सय जनाका लागि दिउँसो पुरी तरकारी र बेलुका खानाको व्यवस्था गरियो।

विद्यालयमा बस्नका लागि १६ वटा कोठामा कालो म्याट बिछ्याइएको छ। वडा नंं ११ का सदस्य सरोज मुल्मीका अनुसार वंशीघाटका प्रभावितहरूका लागि पसलबाट खाद्यान्न उपलब्ध गराएर क्याटरिङ्लाई पकाउने जिम्मा दिइएको छ। प्रभावित बोलाएर खाना खुवाउने प्रबन्ध गरिएको छ। वडा सदस्य यता पौरखी बस्तीका प्रभावित ६ सय जनाका लागि गुह्येश्वरी स्कूलका खानपानको व्यवस्था गरिएको छ।

शुक्रबारबाट परेको अविरल वर्षाका कारण नदी किनारा हुँदै बस्तीभित्र पानी प्रवेश गरेको थियो। यसबाट आइलागेको विपत्तिको सामना गर्न शनिबार बिहानैदेखि महानगर प्रहरी बलका १७ वटा टोली परिचालन भएका थिए। यसरी खटिएका नगर प्रहरीले जनप्रतिनिधि, सुरक्षा निकाय र स्थानीयहरूसँग खोज र उद्धारको काम गरेका थिए। यसका लागि ४ वटा रेस्क्यु बोट (डुङ्गा) को प्रयोग गरिएको महानगरपालिकाले जनाएको छ।

काठमाडौं जिल्लाका विभिन्न ठाउँमा बाढीमा फसेका १ हजार १६० जनालाई उद्धार गरिएको थियो। खोलाले बगाएर तथा पहिरोमा परेर मृत्यु भएका ११ जनाको शव निकालियो। महानगरपालिकाका अनुसार ७४ वटा पशु चौपाया क्षति भयो। १ हजार ३४० वटा घर डुबान भए।

महानगरपालिकाको शंखमूलमा, बाढी विपदमा फसेका ५ जनालाई, बल्खु कालीमाटीबाट ७११ जनालाई कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय गेट अगाडिबाट १५१ जनालाई, वडा नं. १ नक्साल क्षेत्रबाट ११० जनालाई, कोटेश्वर बालकुमारी झोलुङ्गे पुल क्षेत्रबाट २८ जनालाई उद्धार गरिएको थियो।

TOP