यस्तो छ गण्डकीका अस्पताल र स्वास्थ्य कार्यालयको मूल्यांकन

पर्वत : स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको मूल्यांकनमा जिल्ला अस्पताल स्याङ्जा उत्कृष्ट बनेको छ।

निर्देशनालयले स्वास्थ्य सेवा प्रभावका तोकिएका विभिन्न सूचकहरूको आधारमा प्रदेशका ८५ वटा स्थानीय तह, ११ वटा स्वास्थ्य कार्यालय, ११ वटा अस्पताल र ११ वटा आयुर्वेद संस्थाहरूको मूल्यांकन गर्दै आइरहेको छ।

कार्यसम्पादनमा आधारित संस्थाहरूको स्तर निर्धारण कार्य सञ्चालनको व्यवस्थापनका लागि महत्त्वपूर्ण हुने भन्दै निर्देशनालयले हरेक वर्ष यिनीहरूको मूल्यांकन गर्ने गरेको छ।

निर्देशनालयको तथ्यांक अनुसार अस्पतालतर्फ जिल्ला अस्पताल स्याङ्जा पहिलो बनेको छ। विभिन्न सूचक र मापदण्डहरूमा कार्यसम्पादनको आधारमा ६८.३ प्रतिशत अङ्क प्राप्त गर्दै स्याङ्जाले प्रदेशका अरू १० जिल्लालाई पछाडि पारेको हो। दोस्रो स्थानमा आएको पर्वत अस्पतालले ५९.५ प्रतिशत र तेस्रो स्थानमा आएको लमजुङ अस्पतालले ५८.७ प्रतिशत अङ्क प्राप्त गरेका छन्।

अस्पतालहरूको मूल्यांकनको लागि एमएसएस कार्य योजनाको कार्यान्वयन, बिरामी रिफर, कार्यगत रिपोर्टिङ, शय्याको प्रयोग, हरेक दिन हुने रेडियोग्राफी सेवा, अस्पतालको आकस्मिक सेवा, जिल्लाको जनसंख्या आधारमा सेवा लिएका सेवाग्राहीको संख्या, विपद्को पूर्व तयारी, फोहोर व्यवस्थापन, बेरुजु फर्छ्यौट, अस्पतालको आफ्नै आम्दानी, सूचना प्रवाह, अस्पताल व्यवस्थापन समितिको वार्षिक बजेट तथा कार्य योजना लगायतका शीर्षकमा कुल एक सय ३५ अङ्कमा मूल्यांकन गरेर यसलाई शत प्रतिशतमा राख्ने गरिएको छ।

यस्तै चौथोबाट ११ औँ स्थानसम्म ५७.५ प्रतिशतले गोरखा अस्पताल, ५७.१ प्रतिशतले दमौली अस्पताल, ५६.४ प्रतिशतले धौलागिरि अस्पताल बागलुङ, ५४.१ प्रतिशतले मातृ शिशु मितेरी अस्पताल कास्की, ५३.२ प्रतिशतले बेनी अस्पताल म्याग्दी, ५२.४ प्रतिशतले मध्यविन्दु अस्पताल नवलपरासी (बर्दघाट सुस्ता पूर्व),

५०.२ प्रतिशतले जिल्ला अस्पताल मनाङ र ४६ प्रतिशतले जिल्ला अस्पताल मुस्ताङ रहेका छन्।

स्वास्थ्य कार्यालयहरूको मूल्यांकनतर्फ पनि स्याङ्जा नै पहिलो बनेको छ। दोस्रोमा बागलुङ र तेस्रोमा कास्की आएका छन्। यिनीहरूले क्रमशः ८३.२, ८१.५ र ७५ प्रतिशत अङ्क पाएका छन्। चौथोमा पर्वतले ७४.७, पाँचौँमा लमजुङले ७४.२, छैटौँमा म्याग्दीले ७०.७, सातौँमा तनहुँले ७०.५, आठौँमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवौँमा गोरखाले ६७.८, १० औँमा मनाङले ६४.६ र ११ औँमा मुस्ताङले ६०.२ प्रतिशत अङ्क पाएका छन्।

निजी तथा गैह्र सरकारी स्वास्थ्य संस्था नयाँ दर्ता तथा नवीकरण दर, बेरुजु फर्छ्यौट, समयानुसारको कार्य योजना, वार्षिक स्वास्थ्य प्रतिवेदन, सूचनाको स्वतः प्रकाशन, मन्त्रालयको मूल्यांकन लगायतका शीर्षकमा कुल एक सय ३० अङ्कमा मूल्यांकन गरेर यसलाई शत प्रतिशतमा राख्ने गरिएको छ।

TOP