खेलबाट राष्ट्रको विकास गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौँ : सभामुख देवराज घिमिरेले खेलबाट राष्ट्रको विकास गर्ने गरी अघि बढ्नुपर्ने बताएका छन्।

शनिवार ललितपुरमा आयोजित झापा निर्वाचन क्षेत्र नम्बर १ ले आयोजना गरेको झापा-१ काठमाडौँ कप फुटसल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले खेलको क्षेत्रमा नेपाल क्रमशः अघि बढ्दै आइरहेको बताए। उनले खेललाई राज्यले दिनुपर्ने जति महत्त्व दिन नसकेको गुनासो समेत गरे।

उनले खेलकुदमा हरेक ठाउँबाट सक्रियता लिने हो भने खेलकुद क्षेत्रमा धेरै अवसर रहेको बताए। राष्ट्रमा आवश्यक पर्ने नीतिदेखि व्यवहार सुधार गर्दै खेलकुदको क्षेत्रमा गर्नुपर्ने प्रगति सबै मिलेर मात्रै सम्भव रहेको बताए।

नेपालले केही समययता खेलकुदमा प्रगति गर्दै आइरहेको र अझ बढी क्रिकेटमा नेपालले प्रगति हासिल गरिरहेको बताए।

सभामुख घिमिरेले भने‚ ‘खेल क्षेत्रमा नेपाल क्रमशः अघि बढ्दै आइरहेको छ। हाम्रो खेलकुदमा हरेक ठाउँबाट सक्रियता लियौँ भने अवसर प्राप्त गर्छ, हौसला प्रदान गर्छ। नेपालले केही समययता खेलकुदमा राम्रो प्रगति गर्दै आएको छ। त्यसमा पनि क्रिकेटमा विश्वस्तरमा हामी प्रवेश गरिरहेका छौँ। महिलाहरूको फुटबलमा साफ स्तरमा फाइनल पुगेका थियौँ। हाम्रो खेलकुदमा भविष्य सुन्दर छ, त्यसका लागि सबैले ध्यान दिनुपर्छ। खेलबाट राष्ट्रलाई अघि बढाउने गरी हामी अघि बढ्नुपर्छ।’

सभामुख घिमिरेले नेपालका लागि खेलकुदमा भविष्य सुन्दर रहेको बताए।

TOP