सर्वोच्चको आदेश र महानगरको निर्णयविरुद्ध र्‍याली (तस्वीरहरू)

काठमाडौं : काठमाडौंका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै र्‍याली निकालिएको छ।

गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति तथा भूमि अधिकार संरक्षण संघर्ष समितिको नामबाट र्‍याली निकालिएको हो। ललितपुरको कुपण्डोलस्थित बागमती नदी किनारबाट सुरु भएको र्‍याली माइतीघर मण्डला आइपुगेको छ।

र्‍यालीका कारण यस क्षेत्रको सवारी आवागमन अस्तव्‍यस्त बन्न पुगेको छ।

३ पुस २०८० मा सर्वोच्च अदालतले नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमती लगायत उपत्यकाका ठूला नदी तथा खोलाहरुमा ४० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो।

त्यसअघि २०६५ सालमा मन्त्रिपरिषदले बागमती, विष्णुमती लगायत ठूला नदीहरुमा २० मिटर क्षेत्र छाड्नुपर्ने निर्णय गरेको थियो। पहिले २० मिटर छाड्नुपर्ने भनिएकोमा खोलामा थप २० मिटर छाड्न सर्वोच्चले दिएको आदेश कार्यान्वयनका लागि काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको थियो।

यो कार्यान्वयन गर्दा सयौंको उठिबास लाग्ने भन्दै विरोध प्रर्दशन भइरहेको छ।

TOP