जनकपुरसँग पहिलो खेल काठमाडौं

काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलमा आज हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ।

पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरको दोस्रो खेल हो। यता पहिलो खेल खेल्न लागेको काठमाडौं विजयी सुरुवात गर्ने दाउमा छ ।

दिउँसो साढे १२ हुने पहिलो खेलमा आमनेसामने हुन लागेका यी दुई टोलीबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। जहाँ पहिलो खेल हारेको जनकपुर पुनरागमनको खोजीमा हुनेछ भने काठमाडौं जितसहित प्रतियोगिताको थालनी गर्न चाहन्छ।

पहिलो संस्करणको च्याम्पियन जनकपुरका लागि दोस्रो संस्करण बिर्सनलायक बन्यो। गत वर्ष तालिकाको पुछारमा रहेको जनकपुर यसपटक पुनरागमनको लक्ष्यमा रहे पनि पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार व्यहोर्‍यो।

जनकपुरमा जिम्मी निशम, मोईन अली, कुशल परेरा र कप्तानीको समेत जिम्मेवारीमा रहेका हर्मित सिंहजस्ता स्तरीय विदेशी खेलाडी छन्। उनीहरुलाई घरेलु खेलाडीहरू ललित राजवंशी, अनिल साह लगायतले साथ दिनेछन्। कागजी रुपमा सन्तुलित देखिए पनि पहिलो खेलमा भोगेको हारबाट सिक्दै २ अंक जोड्नु जनकपुरलाई मुख्य चुनौती हुनेछ।

यता करण केसीको कप्तानीमा मैदान उत्रने काठमाडौं गोर्खाज पनि सन्तुलित देखिन्छ। टोलीमा अष्ट्रेलियाका स्टार ब्याटर डेभिड वार्नरलाई समेत समावेश गरिएको छ। यद्यपि उनी कति समय नेपालमा रहन्छन् भन्ने यकिन नभए पनि वार्नरको उपस्थितिले टोलीको मनोबल उच्च बनाएको छ। उनीबाहेक के एस भरत, विल बसिस्टो, साम हेजलेट जस्ता अनुभवी खेलाडीबाट टोलीले अपेक्षा राखेको छ। घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका कप्तान करणसहित साहब आलम, रशिद खान, भीम सार्की लगायतले काठमाडौंलाई ब्याटिङ, बलिङ र फिल्डिङमा सन्तुलन प्रदान गरेको छ।

एनपीएलमा अहिलेसम्म यी दुईबीच २ पटक भेट भएको छ। पहिलो संस्करण जनकपुर ५ विकेटले विजयी हुँदा दोस्रो संस्करण काठमाडौं पनि समान ५ विकेटले नै विजयी भएको थियो।

TOP