सिटिजन लाइफद्वारा मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी

घनश्याम भर

विजयनगर, १९ कार्तिक ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चन्द्रौटा शाखाले बीमितको मृत्युपछि परिवारलाई ५ लाख ८४ हजार ५ सय रुपैयाँ मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ ।

कपिलवस्तुको विजयनगर गाउँपालिका-२ लाेहराैला निवासी स्वर्गीय कान्छा थारुले २०८१ साल पुस १ गते सिटिजन लाइफ इन्स्योरेन्सको चन्द्रौटा शाखामार्फत ५ लाख रुपैयाँको जीवन बीमा गराएका थिए । उनको २०८३ साल असार ८ गते कालगतिले निधन भएपछि बीमा सम्झौता अनुसार प्राप्त हुने मृत्यु दाबी वापतको ५ लाख ८४ हजार ५ सय रुपैयाँ उनकी धर्मपत्नी बुधनी थारुलाई हस्तान्तरण गरिएको एमडीआरटी अनिल थारुले जानकारी दिए ।

एक विशेष कार्यक्रमका बीच चन्द्रौटा शाखाले मृतक परिवारकाे खातामा उक्त रकम हस्तान्तरण गरेको जनाएको छ । साथै बीमा पोलिसीको अवधि समाप्त भएपछि योजना अनुसार थप बीमाङ्क रकमसमेत उपलब्ध गराइने जानकारी दिइएको छ ।

कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स चन्द्रौटा शाखाका प्रमुख सन्तोष पन्तले जीवन बीमा बचत तथा लगानीको माध्यम मात्र नभई परिवारको आर्थिक सुरक्षाको महत्वपूर्ण आधार भएको बताए । अप्रत्याशित घटनाका कारण परिवारमा पर्न सक्ने आर्थिक भार न्यूनीकरण गर्न जीवन बीमाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले सबैलाई समयमै जीवन बीमा गर्न आग्रह गरे ।

उनले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै सिटिजन लाइफप्रति विश्वास गरेकोमा परिवारलाई धन्यवादसमेत दिए । यस घटनाले परिवारमा आइपर्ने आर्थिक जोखिम न्यूनीकरण तथा भविष्यको आर्थिक सुरक्षाका लागि जीवन बीमाको महत्वलाई पुनः उजागर गरेको छ ।

 

 

TOP