१ सय २५ रक्तदाताको मानवीय योगदान, विजयनगरमा रक्तदान उत्साहजनक

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २० कार्तिक ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा आयोजित रक्तदान कार्यक्रममा १ सय २५ जनाले रक्तदान गरेका छन् । रक्त अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाको आयोजनामा बिहीबार रक्तदान कार्यक्रम गरिएको हो ।

गाउँपालिकाको वडा नम्बर ६ बद्धौरमा अवस्थित विजयनगर आधारभूत स्वास्थ्य सेवा अस्पतालमा आयोजित कार्यक्रममा सर्वसाधारण, कर्मचारी, शिक्षक, विद्यार्थी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरूले उत्साहपूर्वक रक्तदान गरेका छन् ।

स्थानीय युवा परिषद विजयनगर गाउँपालिकाकाे समन्वय र नेपाल रेडक्रस सोसाइटी बुटवल रूपन्देहीकाे प्राविधिक सहयोगमा ‘रक्तदान जीवनदान, तपाईंको एक थोपा रगत कसैको नयाँ जीवन’ भन्ने सन्देशसहित रक्तदान कार्यक्रम गरिएको शिक्षा शाखा प्रमुख शिव कुमार चाैधरीले जानकारी दिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले रक्तदानलाई मानवताको उत्कृष्ट सेवा भन्दै यस्ता मानवीय कार्यमा सबैको सहभागिता आवश्यक रहेको बताए । उनले एक व्यक्तिले गरेको रक्तदानले अर्को व्यक्तिको जीवन बचाउन सक्ने भएकाले स्वस्थ व्यक्तिहरूले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले रक्तदान सामाजिक उत्तरदायित्व र मानवीय सेवासँग जोडिएको महत्वपूर्ण कार्य भएको बताए । उनले रक्त अभावको समस्या न्यूनीकरण गर्न यस्ता कार्यक्रमले सहयोग पुर्‍याउने उल्लेख गर्दै रक्तदानप्रति समुदायमा सकारात्मक चेतना फैलाउनुपर्ने बताए ।

कार्यक्रममा १ सय २५ जनाको सहभागिताले रक्तदानप्रति स्थानीय समुदायको उत्साह र मानवीय सेवाभावलाई प्रतिबिम्बित गरेको आयोजकले जनाएको छ ।

विजयनगरमा नागरिक सुनुवाई : शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रतिबद्धता
२०८३ कार्तिक १८, बुधबार १०:३७ गते

घनश्याम भर (विजयनगर) कपिलवस्तु, १८ कात्तिक । कपिलवस्तुको विजयनगर गाउँपालिका-१ नेवलगञ्जमा स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सार्वजनिक सेवा…

TOP