महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार, सेवा प्रवाहमा सहज हुने अपेक्षा

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २० कार्तिक ।

कपिलवस्तुको विजयनगर गाउँपालिकाका १ नम्बर वडा कार्यालय र ६ नम्बर वडा कार्यालयले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई साइकल वितरण गरेका छन् । स्वास्थ्य सेवाको पहुँच विस्तार तथा स्वयंसेविकाहरूको कार्यसम्पादनमा सहजता ल्याउने उद्देश्यले १६ जनालाई साइकल वितरण गरिएको हो ।

वडा नम्बर १ का ६ जना र वडा नम्बर ६ का १० जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई साइकल प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष गोपालबहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले स्वयंसेविकाहरूलाई साइकल हस्तान्तरण गरेका हुन् ।

साइकल हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष थापाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले गाउँघरमा स्वास्थ्य सेवा पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनीहरूको कामलाई थप सहज र प्रभावकारी बनाउन साइकल वितरण गरिएको उल्लेख गर्दै स्वास्थ्य सेवाको पहुँचबाट कोही पनि वञ्चित हुन नहुनेमा जोड दिए ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत विश्वकर्माले स्वयंसेविकाहरूको कार्यक्षमता र सेवा प्रवाहलाई सहज बनाउन साइकल उपयोगी हुने बताए । स्वास्थ्य क्षेत्रमा स्वयंसेविकाहरूले पुर्‍याउँदै आएको योगदानको कदर गर्दै आवश्यक सहयोग र सहजीकरणलाई प्राथमिकता दिनुपर्ने उनको भनाईछ ।

कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष इन्नर थारु, वडा सचिव बालबहादुर थापालगायतको उपस्थिति रहेको थियो । साइकल प्राप्त भएपछि स्वयंसेविकाहरूलाई घरदैलोमा पुगेर स्वास्थ्य परामर्श, मातृ तथा शिशु स्वास्थ्य सेवा र जनचेतनामूलक गतिविधि सञ्चालन गर्न थप सहज हुने अपेक्षा गरिएको छ ।

 

 

विजयनगरमा नागरिक सुनुवाई : शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रतिबद्धता
२०८३ कार्तिक १८, बुधबार १०:३७ गते

घनश्याम भर (विजयनगर) कपिलवस्तु, १८ कात्तिक । कपिलवस्तुको विजयनगर गाउँपालिका-१ नेवलगञ्जमा स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सार्वजनिक सेवा…

TOP