कान्तिले गर्‍यो एक वर्षमा २ लाखभन्दा बढीको उपचार‚ ३ हजारभन्दा बढीको शल्यक्रिया

नेपालको एकमात्र सरकारी बाल अस्पताल कान्ति बाल अस्पतालले एक वर्षमा २ लाखभन्दा बढी बालबालिकाको स्वास्थ्य उपचार गरेको छ।

अस्पतालको ६२औँ वार्षिकोत्सवका अवसरमा अस्पतालमा आयोजित एक कार्यक्रममा निर्देशक डा पंकज रायले गत आव ०८०/८१ मा २ लाख ४ हजार २९९ जनाले अस्पतालबाट स्वास्थ्य उपचार गराएको जानकारी दिए। जसमध्ये ५१ हजार ८८६ जना विरामीले इमर्जेन्सीमा सेवा लिएका छन्।

यसैगरी, भर्ना भएर सेवा लिने विरामीको संख्या ९ हजार ६८५ जना रहेका छन्। अस्पतालले एक वर्षमा ३ हजार २७६ जनाको शल्यक्रिया गरेको छ।

तीमध्ये ९८२ जनाको मेजर शल्यक्रिया गरेको छ। १ हजार १७ जनाको मध्यम शल्यक्रिया र १ हजार २७८ जनाको माइनर शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।

अस्पतालले डाइग्नोष्टिक सेवाअन्तर्गत ५ लाख ३७ हजार ४३९ जनालाई लेबोरेटरी सेवा, ५१ जनाको इन्डोस्कोपी, ११ जनाको कोलोनोस्कोपी, ९९ ब्रोँकोस्कोपी, १ हजार ६१० सिटी स्क्यान, ५२ हजार ८५६ एक्सरे, २५ हजार ३५३ यूएसजी र १ हजार ४७ ईईजी सेवा दिएको छ। अस्पतालले आर्थिक वर्षभरि ५ करोड ११ लाख ४४ हजार ९०१ रुपैयाँको निःशुल्क सेवा दिएको डा. रायले जानकारी दिए।

तर देशभरबाटै रिफरल विरामीको चाप हुने ​एकमात्र संघीय सरकारी बाल अस्पतालमा भौतिक संरचना अपुग हुँदा लक्ष्यअनुसारको सेवा दिन नसकेको निर्देशक डा रायको भनाइ छ।

अस्पतालका निर्देशक डा. पंकज रायकाअनुसार अस्पतालले अहिले भौतिक पूर्वाधार अपुगदेखि, जनशक्ति र बजेट अभावसम्मका समस्या कारण अस्पतालले विरामीको चापअनुसारको सेवा दिन नसकेको बताएका हुन्।

TOP