पीएम कप : उपाधिका लागि आज सुदूरपश्चिम र एपीएफ भिड्दै

काठमाडौं : कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम प्रदेश र एपीएफ क्लब भिड्ने भएका छन्। खेल शनिबार बिहान १० बजे फाप्ला क्रिकेट मैदानमा शुरु हुनेछ।

यसअघि शुक्रबार भएको सुपर ४ को अन्तिम खेलमा बागमती प्रदेशलाई ३० रनले हराएर सुदूरपश्चिमले फाइनलको यात्रा तय गरेको हो। हारसँगै बागमती प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि शुक्रबार भएको सुपर ४ को अर्को खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गर्दै फाइनलमा पुगेको हो।

यही माघ १ गते शुरु भएको प्रतियोगितामा १२ टोलीको सहभागिता थियो। राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रदेश क्रिकेट संघको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको छ।

प्रतियोगिताको उपाधि विजेताले नगद ५ लाख रुपैयाँ, उपविजेताले नगद ३ लाख रुपैयाँ, प्लेयर अफ द सिरिजलाई नगद ५० हजार रुपैयाँ, बेस्ट ब्याटर र बेस्ट बलरले जनही नगद २५-२५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

TOP