अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था छ।
वैकल्पिक सडकमा सवारीको चाप बढेसँगै मकवानपुर प्रहरीले सडक व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। र यसको नेतृत्व कार्यालयबाट मात्र होइन प्रहरी अधिकारीहरू स्वयं सडकमा उत्रिएर गरिरहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश बिष्ट आफैं सडकमा पुगेर सवारीको आवागमन व्यवस्थापनमा खटिएका छन्। सवारीको लामो लाइन, साँघुरा सडक र वैकल्पिक मार्गमा बढेको चापबीच प्रहरीले सवारीलाई निर्धारित रुटअनुसार सञ्चालन गराउने, जाम व्यवस्थापन गर्ने तथा अत्यावश्यक सवारीलाई प्राथमिकता दिने काम गरिरहेको छ। प्रशासनले १४ सिटभन्दा कम क्षमताका सवारीका लागि छुट्टै रुट निर्धारण गरेको छ।
हेटौंडाबाट काठमाडौं जाने त्यस्ता सवारीले भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली र काठमाडौं आउने सवारीले फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी सडक प्रयोग गर्नुपर्नेछ।
ठूला यात्रुवाहक तथा मालवाहक सवारीका लागि भने काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्तिलोकपथ प्रयोग गर्न भनिएको छ। त्रिभूवन राजपथमा रहेको कमजोर बेलिब्रिजका कारण इन्धन तथा भारी मालवाहक सवारी सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ। सडकको यो असहजताले यात्राको समय पनि बढाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक विष्टले बीच बीचमा प्रहरी राखेर यात्रालाई सहज बनाउने काममा लागेको बताए।
पालुङ क्षेत्रमा रोकिएका करिब १ सय ५० सवारी साधनहरूलाई सुरक्षाकर्मीको निगरानीमा ‘स्कर्टिङ’ गरेर काठमाडौं ल्याउने कार्य भइरहेको छ। मंगलवार काठमाडौंबाट छुटेका ती सवारी साधनहरू सरकारी निर्णय हुनुअघि नै पालुङ पुगेका कारण त्यहाँ रोकिएका थिए। उहाँकाअनुसार पालुङमा रोकिएका ती सवारी साधनहरूलाई गन्तव्यतर्फ पठाएपछि मात्रै काठमाडौँबाट अर्को समूहका सवारी साधनहरूलाई सो मार्गमा प्रवेश अनुमति दिइनेछ।
त्यसैगरी, १४ सिट क्षमतासम्मका हलुका सवारी साधनहरू भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै फर्पिङको बाटो भएर सञ्चालन भइरहेका छन्। हलुका सवारी साधनको हकमा आज असोज १६ गतेदेखि लागू हुनेगरी २४ सै घण्टा आवतजावत गर्न दिने निर्णय भएको छ। हाल सडकमा पर्याप्त ट्राफिक जनशक्ति परिचालन गरी ठाउँ–ठाउँमा सवारी साधनहरूलाई ‘होल्ड’ गर्दै र समूह बनाएर गन्तव्यतर्फ पठाउने (कन्भे) कार्य भइरहेको उहाँले बताउनु भयो। सडकको भौगोलिक अवस्था र सुरक्षालाई ध्यानमा राख्दै कतिपय स्थानमा सवारी साधनहरूलाई केही समय रोकेर पठाउने गरिएकोले बीच–बीचमा केही अवरोध देखिए पनि व्यवस्थापन कार्यलाई चुस्त बनाइएको प्रहरीले जनाएको छ।
बाढीअघि सामान्य अवस्थामा करिब तीन घण्टामा पूरा हुने हेटौंडा–काठमाडौं यात्रा अहिले सवारीको चापका कारण झन्डै पाँच घण्टासम्म लम्बिएको छ। यात्रुवाहक सवारीसँगै अत्यावश्यक सेवाका सवारीलाई सहज रूपमा गन्तव्यसम्म पु¥याउनु प्रहरीका लागि अर्को चुनौती बनेको छ। ग्यास र पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन तथा एम्बुलेन्सलाई प्रहरीले विशेष व्यवस्थापनसहित प्राथमिकतामा राखेर काठमाडौंसम्म पु¥याउने व्यवस्था मिलाइरहेको छ। विपद्का कारण सडकको अवस्था जटिल बन्दा प्रहरी नेतृत्व केवल निर्देशनमा सिमित छैन समस्या भएको ठाउँमै पुगेर व्यवस्थापनमा जुटेको छ।
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
भदौ १७, २०८३
१७ भदौ, काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको…



ghanashyam