पाँचपोखरी थाङपालमा ‘तामाङ भाषा शिक्षा प्रादेशिक सम्मेलन’ सम्पन्न

काठमाडौं : काठमाडौं विश्वविद्यालयको आयोजना तथा नेपाल तामाङ घेदुङको सहआयोजनामा सिन्धुपाल्चोकको पाँचपोखरीमा ‘तामाङ भाषा शिक्षा प्रादेशिक सम्मेलन’ सम्पन्न भएको छ ।

पाँचपोखरी गाउँपालिकाको ब्यवस्थापन तथा गोले तामाङ वंश उत्थान समाजको सहव्यवस्थापनमा यहि आश्विन २६ देखि सुरु तीन दिने सम्मेलन तामाङ भाषा शिक्षा अन्तरगत भाषा शिक्षण, लिपि, इतिहाँस, संस्कृति र साहित्यमा केन्द्रित प्रस्तुति तथा छलफल गरी सम्पन्न भएको नेपाल तामाङ घेदुङका महासचिव लिलाकुमार ग्लान तामाङले जानकारी दिए।

काठमाडौ विश्वविद्यालयमा तामाङ भाषा शिक्षा अध्ययन गर्ने विद्यार्थी, भाषा शिक्षा, इतिहास, साहित्य, सन्चार क्षेत्रका अभियान्ता तथा विज्ञ र सरोकारवाला संस्थाका प्रतिनिधिहरुको सहभागितामा सम्मेलन गरिएको हो। सम्मेलनको उद्घाटन गर्दै बागमती प्रदेशका बिना विभागीय मन्त्री ज्ञानबहादुर तामाङले विद्यालयहहरु र विश्वविद्यालयमा समेत तामाङ भाषा अध्ययन तथा अध्यापन सुरु भएकोमा खुसी व्यक्त गर्दै सम्मेलनले भाषाको शैक्षिक विकास, पुस्तान्तरण र संस्थागत विस्तारमा योगदान पु¥याउने विश्वास व्यक्त गरे।

मातृभाषाको प्रयोग र सम्मानलाई व्यवहारमै स्थापित गर्नुपर्नेमा जोड दिँदै उनले तामाङ भाषाको संरक्षण तथा तामयिक लिपिको प्रवद्र्धनका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे। यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले गाउँपालिकाभित्र रहेका १७ गुम्बासहितमा स्थानीय तहले तामाङ भाषा, संस्कृति र परम्परा संरक्षणमा भूमिका खेल्ने बताए। त्यसैले सम्मेलन आफ्नो पालिकामा आयोजना गर्नमा आफुहरुले सहयोग गरेको उनको भनाई थियो।

काठमाडौँ विश्वविद्यालयका प्रा.डा.टीकाराम पौडेलले विदेशी भाषाको अध्ययनसँगै मातृभाषा ओझेलमा पर्न नदिन आफ्नै भाषाको अध्ययन, अनुसन्धान र प्रवद्र्धन आवश्यक रहेकोमा जोड दिए। यही उद्देश्यले विश्वविद्यालयमा तामाङ भाषा र तामयिग अध्ययन सुरु गरिएको उनको भनाइ थियो।सम्मेलनले तामाङ भाषा तथा तामयिक लिपिको शैक्षिक विकास, पुस्तान्तरण र संस्थागत विस्तारका लागि ठोस आधार तयार गर्न ठुलो मद्धत पुग्ने अपेक्षा रहेको उनले बताए।

उनका अनुसार विश्वसवद्यालयमा पहिलो सत्रका तामाङ विद्यार्थी उत्तीर्ण भइसकेका छन्। अहिले जारी दोस्रो सत्रको अध्ययन प्रभावकारी बनाउनु, अनुभव आदानप्रदान र छलफललाई प्रोत्साहन गर्नु सम्मेलन आयोजना गरिएको उनको भनाई थियो। काठमाडौँ विश्वविद्यालय इञ्जिनियरिङ स्कुलका डिन बालकृष्ण बलले तामाङ भाषाको संरक्षण तथा प्रवद्र्धनमा सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए।

भाषाका शब्दहरू कम्प्युटर प्रणालीमा समावेश गर्ने काम भइरहेको उल्लेख गर्दै उनले प्रविधिबाट अभिलेखीकरण, अध्ययन, अनुसन्धान र विश्वव्यापी पहुँच विस्तार गर्न सकिने धारणा राखे।मानवशास्त्री डा.मुक्तसिं लामाले तामाङ भाषाको संरक्षण र पुस्तान्तरणका लागि विश्वविद्यालय तहमा सुरु भएको अध्ययन महत्पूर्ण काम भएको बताए। नेपाल तामाङ घेदुङका सहअध्यक्ष सरोजमोहन मोक्तानले मातृभाषाको संरक्षण, विकास र शैक्षिक विस्तारमा सम्मेलनलेठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे।

सम्मेलनमा मातृभाषाको शैक्षिक विकास, पुस्तान्तरण, संस्थागत विस्तार र सूचना प्रविधिको प्रयोगबारे छलफल गरिएको थियो। भाषा, शिक्षा, सन्चार र साहित्यका विविध विषयमा विषय विज्ञहरुले प्रस्तुती गर्नुका साथै विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको आ–आफ्ना अनुभवसहितको प्रस्तुती गरेका थिए।

कार्यक्रम विश्वविद्यालयको उपप्राध्यपक डा. सिद्धार्थ ढुङ्गाना, भाषाविद् तथा विश्वविद्यालयमा तामाङ भाषा अध्ययनका संयोजक अजितमान तामाङ, घेदुङको महासचिव लिलाकुमार ग्लान तामाङ, उपमहासचिव विलाम मोक्तान, गोले तामाङ वंश उत्थान समाजका अध्यक्ष मिनप्रसाद गोले, गोले वंशका पूर्व अध्यक्ष जयप्रसाद गोले, घेदुङका पूर्व महासचिव सोमबहादुर घले, पाँचपोखरी गापा –५ का वडाध्यक्ष काले गोले, घेदुङका विभागीय प्रमुख सोमराज घलान, संघीय सदस्य गोपीलाल घलान, रचना मोक्तान, गापा सल्लाहकार शिसिर वाईबा, तामाङ भाषाका अध्येता राजेन्द्र थोकर, सिजर तामाङ, दिपक घिसिङ, बरिष्ठ संचारकर्मी अमरध्वज लामा लगायतको उपस्थितिमा सम्पन्न गरिएको थियो।

TOP