गुवाहाटीको होटेलमा जग्गा विवादमा गोली चल्दा ५ जनाको मृत्यु, १ गम्भीर घाइते

काठमाडौं : भारतको असम राज्यस्थित गुवाहाटीको व्यस्त जी.एस. रोडमा रहेको एक होटेलमा सोमबार राति साढे ९ बजेतिर भएको गोलीकाण्डमा परी पाँच जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। होटेलको भाडा (लीज) सम्झौतालाई लिएर भएको विवादका कारण सो घटना घटेको प्रहरीले जनाएको छ।

गुवाहाटीका प्रहरी आयुक्त पार्थ सारथी महन्तका अनुसार घटनालगत्तै कारबाही गर्दै हत्यामा संलग्न मुख्य अभियुक्त घनकान्त गोगोईलाई अपराधमा प्रयोग गरिएको पेस्तोलसहित पक्राउ गरिएको छ।

‘राति करिब ९ बजे ६ जनामाथि गोली प्रहार भएको थियो, जसमध्ये एक जना मात्र जीवित बचेका छन्। प्रारम्भिक अनुसन्धानबाट होटेलको लीज सम्झौतासम्बन्धी विवाद नै घटनाको मुख्य कारण रहेको देखिएको छ,’ आयुक्त महन्तले भने।

मृतक पाँच जनामध्ये चार जना होटेलको स्वामित्व भएको परिवारका सदस्य रहेका छन्। प्रहरीका अनुसार अभियुक्त गोगोईले करिब एक वर्षअघि मात्रै उक्त होटेल लीजमा लिएका थिए।

गोली लागेर घाइते भएका दुई जनालाई उपचारका लागि गुवाहाटी मेडिकल कलेज र अस्पताल लगिएको थियो। अस्पताल पुर्याउनासाथ ४८ वर्षीय नारायण दासलाई चिकित्सकहरूले मृत घोषित गरेका थिए। उनको अनुहारमा गोली लागेको अस्पताल स्रोतले जनाएको छ।

घटनामा घाइते भएका ४२ वर्षीय सत्येन्द्र पाठकको दाहिने काँधमा गोली लागेको छ र उनको अवस्था हाल स्थिर रहेको चिकित्सकहरूले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

TOP