कपिलवस्तुमा दुई राउन्ड हवाई फायर गरेर ब्राउन सुगरसहित दुई कारोबारी पक्राउ

जानु पाण्डे

कपिलवस्तु, कात्तिक १६ गते । कपिलवस्तुको वाणगंगा नगरपालिका–३ राजापानीमा लागु औषधसहित दुई जनालाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ । लागु औषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा राधाकृष्ण नास्ता पसलमा पुगेको प्रहरी टोलीलाई देखेपछि भाग्न खोजेका दुई जनालाई हवाई फायर गरी नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–११ का २६ वर्षीय सलाउदिन मुसलमान र वाणगंगा नगरपालिका–६ का २९ वर्षीय उमेश थारु रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख मनोहर भट्टले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक कालिका कार्कीको कमान्डमा खटिएको सात सदस्यीय प्रहरी टोली र लागु औषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको प्रहरी नायब निरीक्षक सागर भट्टराईको संयुक्त टोलीले शनिवार दिउँसो करिब २ बजे उक्त नास्ता पसलमा छापा मारेको सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताउनु भयो ।

प्रहरीका अनुसार खानतलासी तथा नियन्त्रणमा लिने क्रममा दुवै जना भाग्न खोजेपछि प्रहरी नायब निरीक्षक भट्टराईले आफूसँग रहेको ब्यारेटा पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरेका थिए ।

त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिई खानतलासी गर्दा कालो प्लास्टिकबाट २४ ग्राम १८० मिलिग्राम शुद्ध तौलको र उनीहरूले प्रयोग गरेको भारतीय नम्बर प्लेटको यूपी ५५ एभी २६५९ नम्बरको मोटरसाइकलको सिटमुनि लुकाएर राखेको अवस्थामा थप ४ ग्राम ६४० मिलिग्राम शुद्ध तौलको ब्राउन सुगर बरामद गरेको छ ।

TOP