शिक्षा शाखा अधिकृत बेल्बासे र प्रअ मोहराको मिलेमतोः शिक्षकको तलब नै कतौटी

कपिलवस्तु ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको एक विद्यालयका शिक्षकको तलब कटौती गरिएको पाइएको छ । विद्यालयमा कार्यरत २ शिक्षिकाले पाउनुपर्ने वास्तविक तलब नपाएको रहस्य बाहिर आएको छ । गाउँपालिकाको वडा नंं. १ गोबरहवामा रहेको जनचेतना आधारभूत विद्यालयका शिक्षिका अनिता गिरी र पूजा थारुले तलब कटौती गरिएको बताएका छन् ।


मासिक १५ हजारको दरले पाउनुपर्ने रकममा कटौती गरी क्रमशः ४ हजार र ६ हजारका दरले तलब खाएको कार्यालय सहयोगी पुजा थारु र बाल विकासकी अनिता गिरीले जानकारी दिएका छन् । साउनदेखि कार्तिकसम्मको तलब र चाडपर्व खर्च नपाएको बताएका छन् । “सरकारले तोकेको न्युनतम तलब हामीले जसरी भए पनि विद्यालयले दिनैपर्छ” उहाँहरुले भन्नुभयो ।


विद्यालयको खातामा १५ हजारको दरले तलब रकम आए पनि शिक्षा शाखा अधिकृत हरिहर बेल्बासेले क्रमशः ४ र ६ हजारको दरले मात्र तलब खुवाउने मिल्ने प्रधानाध्यापक ओबी कुमारी मोहराले बताउनुभयो । यसरी कुरा बाहिर आएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल थारुले तलबको बारेमा शिक्षा शाखा र बैँकमा बुझ्दा विद्यालयको खातामा दुबै शिक्षिकाको तलब १५ हजारको दरले नै आएको बताउनुभयो ।


विजयनगरको अन्य ४ वटा विद्यालयमा एकमुष्ठ अनुदान रकम प्राप्त गरेका विद्यालयमासमेत बुझ्दा सबै शिक्षकशिक्षिकाहरुले १५ हजारको दरले नै तलब खाएको बताउनुभयो । गोबरहवा विद्यालयमा किन यस्तो भएको हो ? शिक्षा शाखाले दिएको वास्तविक तबल दुबै जनाले पाउनै पर्ने बताउँदै अझै विस्तृत रुपमा यसको बारेमा बुझ्ने अध्यक्ष थारुले बताउनुभयो ।


यता प्रअ मोहराले कति के को रकम बैँक खातामा आएको मलाई कुनै जानकारी नभएको बताउनुभयो । यदी सोही अनुसार तलब रकम आएको हो भने त्यही अनुसार नै खुवाउने उहाँले बताउनुभयो ।


यस विषयमा शिक्षा शाखा अधिकृत बेल्बासेसँग शिक्षा शाखामा बुझ्न जाँदा विद्यालय अनुगमनमा गएको जानकारी प्राप्त प्रश्चात् पटक पटक फोनमार्फत पनि बुझ्न खोज्दा फोन रिसिभ नगर्ने र शिक्षा शाखामा कार्यरत एक जना कर्मचारीसँग १५ हजारको दरले नै तलब खुवाउने भनी फोनमार्फत व्यवस्थापन समितिको अध्यक्ष अनिल थारुलाई जानकारीसमेत गराएका छन् ।

यसरी शिक्षा शाखा अधिकृत र प्रअले मिलेमातोमा कार्यरत शिक्षिकाहरुको तलब कटौती गरी आर्थिक चलखेल गरिएको खुल्न आएको छ ।


विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले तलब कटौतीको विषयमा शिक्षा शाखामा बुझ्ने बताउनुभयो । यदि त्यस्तो हो भने सम्बन्धित व्यक्ति वा निकायले सो विषयमा जवाफदेही हुनुपर्ने उहाँले बताउनुभयो ।

TOP