एकीकृत समाजवादीको निष्कर्ष : गठबन्धनका शीर्ष नेताले नभनी मुख्यमन्त्रीको राजीनामा आउँदैन

हेटौंडा : नेकपा (एकीकृत समाजवादी)ले बागमती प्रदेशका मुख्यमन्त्री फेरबदलका विषयमा केन्द्रीय नेतृत्वले नै टुंगो लगाउनुपर्ने निष्कर्ष निकालेको छ। 

पार्टी अध्यक्ष माधव कुमार नेपालको समेत उपस्थितीमा काठमाडौंमै बसेको बैठकले यस्तो निष्कर्ष निकाले हो। यो गठबन्धनले बनाएको सरकार भएकाले परिवर्तन गर्न पनि शीर्ष तहमै निर्णय हुनुपर्ने प्रदेशसभा संसदीय दलका उपनेता कृष्ण खनालले बताए। 

‘तलको हल्लाले केही तुक राख्दैन। त्यस्ता हल्ला र चलखेलको कुन अर्थ छैन। सबै प्रदेशका सरकार केन्द्रीय गठबन्धनबाटै बनेको हुनाले जे गर्छ केन्द्रले नै गर्छ।’ खनालले भने ‘अहिले हस्ताक्षर गरेका आधारमा मुख्यमन्त्रीले राजीनामा दिने प्रश्न उठ्दैन।’

राजेन्द्र पाण्डेले कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँलाई ६ महिनापछि पद छाड्ने सहमति गरी गत कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका हुन्। तर पद छाड्न आनाकानी गरेको भन्दै कांग्रेस र माओवादीका प्रदेशसभा सदस्यले उनीविरुद्ध हस्ताक्षर संकलन गरेका छन्। 

प्रदेशसभा संसदीय दलकी सचेतक मुनु सिग्देलले मुख्यमन्त्री पाण्डे राजीनामा दिएर मार्गप्रशस्त गर्न तयार रहेको तर त्यसका लागि गठबन्धनको शीर्ष नेताहरूको निर्णय आवश्यक रहेको बताइन्।

‘हाम्रो मुख्यमन्त्री गठबन्धनमा बाधक हुनुहुन्न। उहाँले सजिलै छोड्ने बताउनु भएको छ तर त्यसका लागि गठबन्धनको शीर्ष नेताहरू बसेर निर्णय गर्नुपर्छ’, उनले भनिन्। बैठकमा सहभागी समाजवादीका अर्का प्रदेशसभा सदस्यले भने समाजवादीले अर्को प्रदेशको नेतृत्व पाउने टुंगो नलागेसम्म बागमती प्रदेशको नेतृत्व नछोड्ने छलफल भएको बताए।

उनले गठबन्धनमा तीन दलले २/२ वटा प्रदेशको नेतृत्व गर्न पाउने गरी भागबण्डा मिलाएकाले बागमती प्रदेशको नेतृत्व छोड्दा अर्को प्रदेश पाउनुपर्ने विषयमा छलफल भएको बताइन्। उनका अनुसार बैठकमा सहभागी समाजवादीका अध्यक्ष नेपालले यस विषयमा आफूले गठबन्धनको शीर्ष नेतासँगको छलफल गरेर निष्कर्ष निकाल्ने बताएका थिए।

नेता नेपालले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले तत्काल सरकार फेरबदल नगर्ने बताएको कुरा पनि बैठकमा राखेका थिए।

‘मैले प्रधानमन्त्रीसँग यो विषयमा छोटो कुरा पनि गरेको थिएँ। उहाँले अहिले नै कतै फेरबदल नगर्ने भन्ने कुरा गर्नु भएको छ। गठबन्धनको सबै नेतासँग छलफल गरेर यसको टुंगो लगाउनुपर्छ’, अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै उनले भनिन्।

TOP