महँगीको मारमा उपभोक्ता
म्याग्दी : म्याग्दीको धौलागिरि गाउँपालिका–३ भर भई हाल बेनी नगरपालिका–२ बगरफाँट बस्ने जसवीर विश्वकर्मा अहिले चिन्तित छन्। उनको चिन्ताको कारण हो– महँगी बढ्नु। दैनिक उपभोग्य सामग्रीको मूल्य बढेपछि घरखर्च कसरी धान्ने भन्ने चिन्तामा विश्वकर्मा छन्।
त्यसैगरी म्याग्दीको एक निजी विद्यालयमा अध्यापन गर्ने प्रवेश थापा पनि यसैगरी महँगी बढ्दै जाने हो भने बाँच्न नै मुस्किल हुने बताउँछन्। ‘स्कुलमा तलब बढ्दैन तर महँगी चाहिँ बढेको बढ्यै छ, घरखर्च चलाउनै मुस्किल भयो’, उनले भने।
विश्वकर्मा र थापा त प्रतिनिधि पात्र मात्र हुन्। सामान्य आय हुने व्यक्तिका लागि महँगी काल जस्तै बनेको छ। छोराछोरी पढाउने, घरखर्च चलाउने र विरामी हुँदा उपचार गर्ने कसरी भन्ने समस्याले न्यून आय भएका व्यक्ति रन्थनिएका छन्।
‘पहिले त जेनतेन घरखर्च चलाइएको थियो। अहिले त महँगी बढेर छोइसाध्य छैन,’ विश्वकर्माले भने, ‘कमाइ बढेको छैन। खर्च भने ह्वात्तै बढेको छ।’ महँगीका कारण खर्च बढेपछि परिवार पाल्न मुस्किल भएको शिक्षक थापाले बताए। ‘महँगी बढेपछि दालचामल किन्न, बच्चाको फी तिर्न, कोठा भाडा तिर्न धौ–धौ भएको छ’, उनले भने, ‘तर, हाम्रो समस्या कसले बुझ्ने ?’
थापाले भनेजस्तै पछिल्लो समय तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ।
व्यापारीले पछिल्लो महिना खाद्यान्न तरकारी लगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेको बताएका छन्। व्यापारीहरूका अनुसार गत महिना आलुको मूल्य किलोको ५० रुपैयाँ थियो। अहिले ६५ रुपैयाँ पुगेको छ। यस्तै खानेतेल, चिनी, चामल, दाल लगायतका दैनिक उपभोग्य वस्तुको मूल्य पनि ह्वात्तै बढेपछि उपभोक्ता मारमा परेका छन्।
‘सरकारले मूल्यवृद्धि नियन्त्रण गरेर उपभोक्तालाई राहत दिनुपर्ने हो तर सरकारले वास्ता गरेको छैन’, मंगला गाउँपालिका–४ का देवीराम रोकाले भने। वर्षा शुरु भएसँगै बालीनालीमा असर र बजार आगमन प्रभावित हुँदा तरकारीको मूल्य बढेको तरकारी व्यापारीहरूको भनाइ रहेको छ।
तरकारीसँगै दाल, चामल, चिनी, तेल, मसलाको मूल्यसमेत बढेको छ। अहिले चामलको मूल्य बोरामा सय रुपैयाँसम्म बढेको छ। चिनीको मूल्य पनि केही दिनअघि मात्रै प्रतिकिलो ९० रुपैयाँबाट बढेर ११० रुपैयाँ पुगेको छ। यस्तै, मास र रहरको दाल किलोको २० रुपैयाँ बढेर १८० पुगेको छ।
यसैगरी खानेतेलको मूल्य सबैभन्दा धेरै बढेको छ। खानेतेल लिटरमा १०० रुपैयाँ बढेको छ। सनफ्लावर तेल प्रतिलिटर ३४० पुग्दा तोरीको तेल लिटरको ४०० रुपैयाँ कायम भएको छ। केराउचनाको दाल, मैदाको मूल्य १० देखि १५ प्रतिशतले बढेको व्यापारीले बताएका छन्। अहिले चनाको दाल प्रतिकिलो ११० रुपैयाँ, केराउ किलोको १६० रुपैयाँ र मैदा प्रतिकिलो ६० रुपैयाँमा किनबेच भइरहेको छ।
इन्धनको मूल्य बढ्ने र घट्ने क्रम जारी भए पनि सार्वजनिक यातायातले बढेको मूल्यको नै भाडा लिने गरेका छन्। दुई साताअघिको तुलनामा अहिले इन्धनको मूल्य घटे पनि सार्वजनिक यातायातको भाडा घटेको छैन। भाडा बढेकाले खाद्यान्नको मूल्य पनि बढेको व्यापारी बताउँछन्।
बेनी बजारस्थित एक खाद्यान्न पसलका सञ्चालक सुनम सापकोटाले तेल, मैदा, आटा, चिनी, चामल लगायतका खाद्यवस्तुको मूल्य बढेको बताउँछन्। ‘कम्पनीले नै सामानको मूल्य बढाएर पठाएपछि हामीले पनि बढाएका हौं’, सापकोटाले भने।
मूल्यवृद्धि नियन्त्रणमा सरोकारवाला निकायले चासो देखाउनुपर्नेमा उल्टै मुकदर्शक बनेको स्थानीयले गुनासो गरेका छन्। सरकारले मूल्यवृद्धि नियन्त्रण गरेर उपभोक्तालाई राहत दिनुपर्ने हो तर सरकार त रमितेजस्तो देखिएको यहाँका उपभोक्ताको भनाइ छ।
नेपाल राष्ट्रबैंकले खाद्यवस्तुको मूल्यवृद्धि दर गत वर्षको तुलनामा बढेको जनाएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो १० महिनाको तथ्यांकअनुसार खाद्य तथा पेय पदार्थमा मुद्रास्फीति दर ७.१३ प्रतिशत पुगेको छ। गत वर्ष खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति दर ४.७२ प्रतिशत थियो।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…



ghanashyam