२० वर्षदेखि पहिरोको चपेटामा म्यागदीको तोराखेत
म्याग्दी : पुछारमा भीर। सिरानमा जंगलको बिच भागबाट खनिएको कच्ची मोटरबाटो। बिचमा पहिरोका कारण चिराचिरा परेको तोराखेत गाउँ। त्यही गाउँमा बस्छन् ३२ घर परिवारका डेढ सय मानिस।
म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली तोराखेत गाउँ पहिरोको चपेटामा परेको २० वर्ष भयो। यो दुई दशकको अवधिमा गाउँबाट ६० भन्दा बढी मानिसले बसाइँसराइ गरे। तर, ७३ वर्षीय भक्तबहादुर सापकोटा गाउँ छोडेर अन्यत्र बसाइँ सर्न मानेनन्। गाउँमा रहेका भक्तबहादुरसहित ३२ घर परिवारलाई बर्खा नलाग्दै पहिरोको चिन्ताले सताउने गरेको छ।
२०५८ सालदेखि खस्न सुरु गरेको यो पहिराले बर्सेनी उग्ररूप लिँदै गएपछि स्थानीय सरकारको बजेटले नियन्त्रण गर्नै नसकिने अवस्थामा पुगेको सरोकारवाला बताउँछन्। पहिरो नियन्त्रणको पहल नहुँदा बेनी नगरपालिका–३ तोराखेत र बेनी नगरपालिका–२ बगरफाँटका ६० भन्दाबढी घर उच्च जोखिममा परेका छन् भने पहिराकै कारण पछिल्लो दुई वर्षमा तोराखेतका १७ र बगरफाँटमा चार घर परिवार विस्थापित भएका छन्।
२०७२ सालको भूकम्पका कारण जमिनको सतहलाई खल्बल्याएपछि उक्त पहिरो थप जोखिमपूर्ण बनेको स्थानीय अगुवा दिलबहादुर सापकोटाले बताए। तोराखेतको करिब एक किलोमिटर क्षेत्रफल ओगटेको चट्टानयुक्त जमिनका दर्जन बढी ठाउँमा ठाडो चिरा परेको, मुख्य पहिराको तलपट्टिका बस्ती र जग्गा पहिलेको स्थानभन्दा तल सरेका उनको भनाइ छ।
माथिबाट पहिरो आउने र घरजग्गा रहेको जमिन तलतर्फ भासिने क्रम बढेपछि तोराखेतको पहिरो वरपरको क्षेत्रमा बसोबास गर्ने १७ घर परिवारलाई स्थानान्तरण गरी ज्यामरूककोटको भकुण्डे, फापरखेत र बगरफाँटमा राखिएको बेनी नगरपालिका–२ ज्यामरूककोटका वडाध्यक्ष यामबहादुर कार्कीले बताए।
तल विशाल चट्टाने पहरोकोबीचमा भिरालो जमिन र सोही स्थानमा वस्ती रहेको तोराखेत गाउँभन्दा करिब ३०० मिटर माथिबाट भकुण्डे–भकिम्ली जोड्ने कच्ची मोटर बाटो छ। भकिम्लीको चिनाखेत कटेपछि भकिम्ली र ज्यामरूककोटको सीमा नजिक पर्ने सात्लेपानी सम्मको अधिकांश भाग चर्केको, धाँजा फाटेको र सोही क्षेत्र वरपर पानीका मूल रहेकाले पनि वर्षाको समयमा पहिरोको खतरा बढेको स्थानीयवासी बताउँछन्।
कमजोर भू–बनोट भएको भिरालो गाउँ, गाउँको सिरानमा मोटरबाटो, योसँगैको पहरो फुटेर बगेको चट्टाने पहिरो, जंगल र त्यस क्षेत्रमा रहेका पानीका मूलका कारण पनि सो पहिरा तोराखेत र बगरफाँटवासीका लागि खतरापूर्ण रहेको स्थानीय जनप्रतिनिधिले बताएका छन्। तोराखेत गाउँमाथिको चट्टाने पहिराबाट बेनी नगरपालिका–२ को बगरफाँटलाई ठूलो खतरा छ। तोराखेतको पुछारमा रहेको धुपिरूखतर्फको पहिराले बगरफाँट उच्च जोखिममा परेको स्थानीय बताउँछन्।
भिरालो जमिन माथिबाट लच्किँदै आएका कारण विगतका वर्षमा भन्दा यस वर्षको वर्खायाममा तोराखेत गाउँ बढी खतरायुक्त रहेको भक्त सापकोटाले बताए। ‘बर्खा नलाग्दै पहिरोको चिन्ताले रातभरि निद्रा लाग्दैन। पहिरोकै कारण सबै दामली गाउँ छोडेर हिँडे,बसेका हामी र बँचेको जग्गा जमिन पनि पहिरोले कतिबेला उजाड बनाउँछ र थाँतथलो नासिन्छ भन्ने त्रासमा छौँ’, उनले भने। स्थानीयवासीका अनुसार विगतको वर्षका तुलनामा यो वर्ष तोराखेतको वस्ती नजिकको जमिन धेरै नै भासिएको छ।
गाउँको पूर्वपट्टि करिब ३५० मिटरको दूरीमा रहेको धुपीरूखसम्मको जमिनमा धाँजा फाँटेको छ भने सो क्षेत्रको जमिन पनि ठाडोमुख चिरिएको छ। पहिराका कारण सदरमुकाम बेनीबजारसँगै सीमाना जोडिएको बगरफाँट गाउँ उच्च जोखिममा रहेकाले वर्षाको समयमा बगरफाँटवासी समेत त्रसित हुन्छन्।
पहिरो नियन्त्रण र भू–अध्ययनका लागि केन्द्रबाट विशेषज्ञको टोली ल्याएर निरीक्षण गराउँदा कमजोर र भिरालो भूबनोटका कारण पहिरो नियन्त्रण गर्न स्थानीय प्रयासले मात्र सम्भव नहने सुझाव आएपछि यहाँ रहेका बासिन्दालाई वैकल्पिक ठाउँको व्यवस्थापनतर्फ स्थानीय तह लागेको बेनी नगरपालिका ३ का वडाअध्यक्ष पदम पुनले बताए।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…



ghanashyam