कृष्णनगरमा २ सय ६९ घरपरिवारको वर्षौंदेखिको प्रतीक्षा पूरा

कृष्णनगर, १९ कार्तिक ।

वर्षौंदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको स्वामित्व प्रमाणित गर्ने कागजातको प्रतीक्षामा रहेका कपिलवस्तुको कृष्णनगरका २ सय ६९ घरजग्गाधनीले अन्ततः लालपुर्जा प्राप्त गरेका छन् । लामो समयदेखि लालपुर्जाविहीन अवस्थामा रहेका स्थानीयवासीका लागि बिहीबारको दिन खुसी र राहतको अवसर बनेको छ ।

कृष्णनगर नगरपालिकाका वडा नं. १, ७ र ९ अन्तर्गतका गाउँब्लक जग्गाधनीलाई लक्षित गरी जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको हो । कृष्णनगर नगरपालिका र नापी कार्यालय कपिलवस्तुको संयुक्त आयोजनामा वडा नं. ९ को कार्यालय परिसरमा कार्यक्रम गरी प्रमाणपुर्जा वितरण गरिएको नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिए ।

जग्गा लामो समयदेखि भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाण नहुँदा विभिन्न समस्या झेल्दै आएका स्थानीयवासीले लालपुर्जा पाएसँगै आफ्नो जग्गाको औपचारिक पहिचान प्राप्त गरेका छन् ।

कार्यक्रममा नगर उपप्रमुख आरती देवी चौधरी, जनप्रतिनिधि, नापी कार्यालयका प्रमुख तथा कर्मचारी, स्थानीय अगुवा र जग्गाधनीहरूको उपस्थिति रहेको थियो ।

 

TOP