स्वस्थ र सुखी जीवनका लागि विजयनगरमा ३ दिने योग प्रशिक्षण हुँदै

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २५ कार्तिक ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा योग, ध्यान तथा सकारात्मक जीवनशैली सम्बन्धी तीन दिने प्रशिक्षण कार्यशाला आयोजना हुने भएको छ । ‘स्वास्थ्य, खुसीयाली र आत्मजागरणका लागि’ भन्ने मूल नारासहित  यही कार्तिक २७, २८ र २९ गते कार्यशाला सञ्चालन हुन लागेको गाउँपालिकाले जनाएको छ ।

विजयनगर गाउँपालिकाको आयोजनामा तथा अभ्युदयम् संस्थाको सहकार्यमा गाउँपालिकाको सभाहल खडैचामा सञ्चालन हुने उक्त कार्यशालाको नाम ‘आरोग्य तथा सकारात्मक जीवन’ राखिएको छ । कार्यशालामा योग, ध्यान र प्राकृतिक जीवनशैलीमार्फत समग्र आरोग्यताको विकास गर्ने, तनाव व्यवस्थापन तथा सकारात्मक सोच निर्माण गर्ने र स्वस्थ आहार, विहार एवं आचरणको अभ्यास गराउने विषयमा प्रशिक्षण दिइनेछ ।

त्यसैगरी, सुमधुर सम्बन्ध, सद्व्यवहार र कर्मयोगको विकास, आत्मविश्वास, स्मरण क्षमता तथा संकल्प शक्तिको अभिवृद्धि गर्ने उद्देश्य कार्यशालाले लिएको छ । सहभागीलाई जीवन स्वस्थ, सुखी, सकारात्मक र गुणस्तरीय बनाउन आवश्यक व्यावहारिक सीपसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।

कार्यशालाले योग र ध्यानलाई दैनिक जीवनशैलीसँग जोड्दै शारीरिक तथा मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले बताए । अध्यक्ष थापाले कार्यक्रममा इच्छुकलाई सहभागीका लागि अनुराेधसमेेत गरे ।

TOP