अवरुद्ध १० सडकखण्ड अझै सञ्चालन हुन सकेनन्, ९१ वटा एकतर्फी सञ्चालन

काठमाण्डाै – बाढी र पहिरोका कारण अवरुद्ध १० सडकखण्ड अझै सञ्चालनमा आउन सकेका छैनन् । ९१ सडकखण्ड भने एकतर्फी सञ्चालनमा छन् । 

यी सडकखण्ड सञ्चालनमा आउन अझै समय लाग्ने सडक विभागले जनाएको छ । विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार दश वटा सडकखण्डमा कतै सडक नै बगाएको छ, भने कतिपय ठाउँमा अझै पहिरो खसिरहेकाले सञ्चालनमा कठिनाइ भएको हो । 

सम्बन्धित सडक डिभिजन कार्यालयमार्फत् खुलाउने प्रयास भने भइरहेको उहाँले बताउनुभयो । साँफेबगर मार्तडी सडकखण्ड २ महिनादेखि बन्द छ । बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड प्रयास गर्दागर्दै पनि खुलाउन नसकिएको सडक विभागले जनाएको छ । 

यो सडकखण्डको अम्कोट, ताप्रीसेरा, घट्टेखोलालगायतका ठाउँमा पहिरोसमेत गएको छ । पहिरोका कारण बन्द भएको बेशी शहर चामे सडकखण्ड पनि सञ्चालनमा आउन सकेको छैन । घोप्टेखोला, रामबजार र च्याम्चेमा पहिरो गएकाले यो सडकखण्ड अवरुद्ध भएको हो ।

TOP