पार्टीकाे निर्णय मान्ने, बहस र बैठकबाट नभाग्ने हाे भने पार्टीभित्रकाे समस्या समाधान हुन्छ : नेता नेपाल

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गर्ने प्रतिबद्धता भए पार्टीभित्र देखिएको समस्या समाधान हुने बताउनुभएको छ ।

शुक्रबार काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै वरिष्ठ नेता नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गरे समस्याको समाधान आफै हुने बताउनुभएको हो । त्यसका लागि पार्टी कमिटीको बैठक निरन्तर राखी छलफल, बहस र वादविवाद गर्नुपर्ने उहाँले बताउनुभयो ।

बहसबाट भाग्ने, बैठकबाट भाग्ने र कमिटी प्रणालीबाट भाग्ने भएमा समस्याको समाधान हुन नसक्ने पनि वरिष्ठ नेता नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी कमिटी नै एउटा ठाउँ हो, जहाँ सबै खालका कुराहरु आउँछन्, आउनुपर्छ । छलफल बहसबाट नै उपाय खोज्नुपर्छ । किनभने हामीले आन्दोलनलाई र यो पार्टीलाई एकताबद्ध भएर अगाडि बढाउनुपर्छ । यसका लागि हामी सबै अनुशासनमा बाँधिनुपर्छ । अनुशासनमा बाँधिने हो भने, आफ्नो–आफ्नो ठाउँमा सशक्त र प्रभावकारी भूमिका खेल्ने हो भने, भएका कमी कमजोरीलाई सुधार्ने हो भने यो आन्दोलन अगाडि बढ्छ । पार्टी अगाडि बढ्छ । नागरिकको चाहनालाई लिएर हामीबीच विगतमा पनि छलफल, बहस र वादविवाद हुँदै आएका छन् । छलफल र बहसबाट भाग्ने पनि होइन, बैठकबाट भाग्ने पनि होइन, कमिटी प्रणालीबाट भाग्ने पनि होइन, एक्लै बन्ने पनि होइन, पार्टीको सामूहिक नेतृत्वलाई पार्टीको निर्णयलाई स्वीकार गर्ने सबैमा प्रतिबद्धता चाहिन्छ । ’

पार्टीलाई एकताबद्ध भएर अगाडि बढाउन सबै नेता तथा कार्यकर्ता अनुशासनमा बाँधिनुपर्ने पनि वरिष्ठ नेता नेपालले बताउनुभयो । पार्टीको अनुशासनमा बाँधिने र आ–आफ्नो ठाउँबाट सशक्त र प्रभावकारी भूमिका खेल्ने, कमी कमजोरीलाई सुधारेमा कम्युनिस्ट आन्दोलन र पार्टी एकतालाई बचाउन सकिने नेता नेपालकाे भनाइ छ ।  

TOP