चीनसँगको नाकामा देखिएको समस्या समाधानका लागि आग्रह गरेका छाैँ : परराष्ट्र मन्त्री खड्का

काठमाण्डाै – परराष्ट्र मन्त्री डा. नारायण खड्काले चीनसँगको नाकामा देखिएको समस्या समाधानका लागि चिनियाँ पक्षसँग आग्रह गरेको बताउनुभएको छ ।

परराष्ट्र मन्त्री खड्काले आज सोमवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी चीनका विदेश मन्त्री वाङ यीसँग नाका खुलाउनका लागि झन्डै एक घण्टा टेलिफोन संवाद गरेको उल्लेख गर्दै दुवै देशको हितका लागि पनि त्याे नाका खुलाउन ढिलाइ गर्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘उत्तरी नाका खोल्न पहल गरिराखेका छौँ । चीनका विदेश मन्त्री वाङसँग त्यही माग राखेर एक घण्टा टेलिफोन वार्ता गरिएको छ । चिनियाँ राजदूतसँग पनि त्याे नाका खोल्ने विषयमा कुराकानी भएकाे छ । दुवै देशको हितमा भएकाले त्याे नाका छिट्टै खुल्ने विश्वास लिएका छौँ ।’

यस्तै परराष्ट्र मन्त्री खड्काले नेपालमा छिट्टै उच्चस्तरीय भ्रमण हुने बताउनुभयाे । विदेशबाट छिट्टै राष्ट्रप्रमुख वा प्रधानमन्त्री तहको उच्चस्तरीय भ्रमण हुने उहाँले जानकारी दिनुभएको हो । तर भ्रमण कसको हुने भन्ने कुरा चाहिँ समय आएपछि मात्रै जानकारी गराउने उहाँको भनाइ थियो । मन्त्री खड्काले खास समय आएपछि त्याे उच्चस्तरीय भ्रमणबारे पत्रकारहरुलाई आफूले जानकारी गराउने पनि स्पष्ट पार्नुभयो । 

TOP