बागमती नदीमा डुबेर एक हप्तामा पाँच जनाको मृत्यु

रौतहट : बागमती नदीमा पानीको बहाव बढेपछि पछिल्लो एक सातामा डुबेर पाँच जनाको मृत्यु भएको छ। रौतहटको बागमती नदीमा एक साताभित्र डुबेर पाँच जनाको मृत्यु भएको हो।

गत शुक्रबार धनुषा जिल्लाको क्षीरेश्वर नगरपालिका–५ बाट आफ्ना परिवारका सदस्यहरुसँग पिकनिक खान नुनथर आएका २० वर्षीय पारस यादव नदीमा डुबेर बेपत्ता भएका थिए।

उनको शव शनिबार बिहान बागमती सिँचाई आयोजनाको व्यारेजमा अड्केको अवस्थामा फेला परेको सशस्त्र प्रहरी वेश क्याम्प सन्तपुरका प्रमुख प्रहरी नायव उपरीक्षक योगराज दाहालले जानकारी दिए।

उनका अनुसार बुबा आमासहित पिकनिक खान आएका यादव र अन्य दुई जना पौडी खेल्न साँझ साढे पाँच बजेतिर बागमती नदीमा छिरेका थिए। तीनजना मध्ये महाराजा जैसवार र अमर यादवन पौडिएर बाहिर निस्कन सफल भएका थिए भने यादव भने नदीमा डुबेर वेपत्ता भएका थिए।

यस्तै बागमती नदीमा हराएका दुई बालक शुक्रबार मृत अवस्थामा भेटिएका छन्। बागमती नदीले बगाएर बेपत्ता बालकको शव नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीले दिउँसो फेला पारेको हो।

बागमती नदीको पिपरा घाटमा निर्माणाधीन पुल नजिकै बिहीबार नुहाउन गएका दुर्गा भगवती गाउँपालिका वडा नं–३ मत्सरीका १३ वर्षीय हर्ष झा र वडा २ भलोहियाका १३ वर्षीय आदित्य दास मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

दुवै बालक स्थानीय ज्ञानोदय बोर्डिङको कक्षा ६ मा अध्ययनरत थिए। बागमती पुल नजिकै उनीहरूको साइकल, पुस्तक र कपडा स्थानीयले देखेपछि नुहाउन गएका बालक बेपत्ता भएको अनुमान गरेका थिए।

त्यसपछि अभिभावक र गाउँले मिलेर बालकको खोजी सुरु गरेका थिए। स्थानीय र सुरक्षा टोली परिचालन भएपनि बिहीबार अबेरसम्म बालक फेला परेनन्। 
हराएको भोलिपल्ट घटनास्थलबाट केही पर दुवै बालकलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएकाे छ।

त्यसैगरी गत असार २५ मा रौतहटको चन्द्रपुर १ स्थित पर्यटकीय क्षेत्र नुनथर घुम्न आएका बेला बागमती नदीमा नुहाउने क्रममा बगाएर बेपत्ता दुई भारतीय युवक असार २६ गते मृत अवस्थामा भेटिएका थिए। सुरक्षाकर्मीले खोजीको क्रममा उनीहरूको शव आइतबार घटनास्थलबाट झण्डै १५ किलोमिटर दक्षिणतर्फ नदी किनारमा फेला पारेको थियो।

भारतको सीतामाढी जिल्ला कोट बजार बस्ने २७ वर्षीय सुमन साह, ३० वर्षीय मयक अग्रवाल र ३० वर्षीय गोलु कुमार बीआर ०१ एचएफ ६६१९ नम्बरको कारमा पर्यटकीय नुनथर घुम्न आएका बेला पौडी खेल्ने क्रममा बागमतीले बगाएर बेपत्ता भएका थिए।

नदीले बगाएकै अवस्थामा सुमनलाई स्थानीयले तत्कालै उद्धार गरेका थिए भने, दुई जना मयक र गोलु कुमार बेपत्ता भएका थिए। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र सन्तपुरस्थित सशस्त्र प्रहरी बेसबाट खटिएको सुरक्षाकर्मी टोलीले बेपत्ताको खोजी गर्ने क्रममा वृन्दावन नगरपालिका १ स्थित बलेरीखोर र चन्द्रपुर ९ को सिमाना टोकार भन्ने स्थानमा बागमती खोलाको बगरमा गोलु र मयक मृत अवस्थामा फेला पारेको इलाका प्रहरीका डीएसपी सन्तु जैसवारले बताए।

नुनथर क्षेत्र घुम्न आउनेहरू हरेक वर्ष बागमतीमा पौडी खेल्ने क्रममा बगाएर मृत्यु हुने क्रम बढ्दो छ। पूर्वपश्चिम राजमार्गबाट एक किलोमिटर उत्तरमा रहेको नुनथर क्षेत्र घुम्न ठूलो संख्यामा भारतीयहरू आउने गर्छन्।

उनीहरु नुनथरमा रहेको प्रख्यात झोलुङ्गे पुलमा पर्यटकहरू सेल्फी खिच्नुका साथै मोटरबोट चढेर रमाइलो गर्छन्। धेरैजसो नदीमा पौडी खेलेर आनन्द लिन यहाँ आउँछन्।

TOP