रसुवा बाढी: ९८७ जनाको मृत्यु, ३,९१६ बेपत्ता
काठमाडौं : गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछिको खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो अद्यावधिक विवरण सार्वजनिक गरेको छ।
प्राधिकरणले मङ्गलबार बिहान ९:०० बजेसम्मको तथ्याङ्क प्रस्तुत गर्दै बाढीका कारण हालसम्म ९८७ जनाको मृत्यु भएको र ३,९१६ जना अझै सम्पर्कविहीन रहेको जनाएको छ।
बाढीका कारण विभिन्न जिल्लाबाट हालसम्म ९८७ जनाको शव (विभिन्न मानव अङ्गसहित) फेला परेको छ। प्राधिकरणका अनुसार सबैभन्दा बढी चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६ र नवलपरासी पश्चिममा १७० जनाको शव भेटिएको छ। त्यस्तै गोर्खामा ६५, धादिङमा ५५, तनहुँमा ३८, रसुवामा २७ र नुवाकोटमा १५ जनाको मृत्यु भएको पुष्टि भएको छ।
बाढीमा परी हालसम्म २७९ जना घाइते भएका छन्, जसमध्ये १६८ जना उपचारपछि घर फर्किसकेका छन्। घाइतेमध्ये २,७४० जनाको उपचार नेपाल सेनाका स्वास्थ्यकर्मीमार्फत गरिएको छ। पहिचान नखुलेका शवहरूलाई २१ वटा अस्पतालमा राखिएको छ।
विपद्का कारण विशाल सङ्ख्यामा मानिसहरू अझै सम्पर्कविहीन छन्। जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC) का अनुसार नुवाकोटबाट करिब १,५५८ र रसुवाबाट ८६५ जना बेपत्ता छन्। यस्तै जलविद्युत् आयोजनाहरूबाट ६३९ जना, ५८३ जना विदेशी नागरिक र उनीहरूसँग भ्रमणमा गएका १६४ जना नेपाली हालसम्म सम्पर्कमा आएका छैनन्।
सुरक्षाकर्मीतर्फ नेपाल सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमनका ३, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ र क्वारेन्टाइन कार्यालयका ३ जना कर्मचारी बेपत्ता रहेको प्राधिकरणले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा हालसम्म ११,८१४ जनाको सकुशल उद्धार गरिएको छ। नेपाली सेनाले ५७३ पटक (मङ्गलबार मात्र १२ उडान) हवाई उडान गरी ३,४४९ नेपाली र २५३ विदेशी नागरिकको उद्धार गरिसकेको छ। यस्तै रसुवा र नुवाकोटमा राहत सामग्री ढुवानीका लागि सशस्त्र प्रहरीले पनि ५० भन्दा बढी उडान भरेको छ।
उद्धार तथा राहत कार्यका लागि कुल २९,०११ सुरक्षाकर्मी परिचालन गरिएका छन्, जसमा ८,८९६ नेपाली सेना, ७,९१२ नेपाल प्रहरी र ४,२०३ सशस्त्र प्रहरी रहेका छन्। प्रभावित नागरिकहरूका लागि नुवाकोट (२,४६६), काठमाडौँ (२९६), रसुवा (१८३) र धादिङ (२५) मा होल्डिङ सेन्टरहरू सञ्चालनमा ल्याइएको छ।
नेपाल सरकारले प्रभावित क्षेत्रका लागि आर्थिक सहायता घोषणा गरेको छ। जसअन्तर्गत रसुवा र नुवाकोटलाई १-१ करोड, धादिङलाई ५० लाख र अन्य प्रभावित १५ पालिकाका लागि ६ करोड ७५ लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ।
राहत सामग्रीतर्फ हालसम्म ३७ ट्रक, ३७ बोलेरो र हेलिकप्टरका ९ वटा उडानमार्फत खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको छ।
प्रभावित क्षेत्रमा इन्धन आपूर्ति सहज बनाउन ४२ हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल र ६ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ।
त्यसैगरी, बाढीका कारण क्षतिग्रस्त नेपाल टेलिकमका ११० वटै टावर मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ भने एनसेलका क्षतिग्रस्त ७८ टावरमध्ये ७५ वटा सञ्चालनमा आइसकेका छन्।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam