मन्त्रालयले सार्वजनिक गर्‍यो पर्यटन पुनरुत्थानका ७३ बुँदे कार्ययोजना

काठमाडौं :  पर्यटन क्षेत्र सुधारका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  पुनरुत्थान कार्यक्रम सार्वजनिक गरेको छ। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसले थला परेको पर्यटन क्षेत्र सुधारका लागि ७३ बुँदे  पर्यटन पुनरुत्थान कार्ययोजना सर्वजनिक गरेको छ। 

कोरोना भाइरसले थला परेको पर्यटन क्षेत्र भर्खरै लयमा फर्किन थालेको छ। त्यसलाई पुनरुत्थान गर्नका लागि सो योजना अगाडि बढाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बताए। यो कार्ययोजना अनुसार काम गर्ने मन्त्री श्रेष्ठले बताए। जसलाई तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना अगाडि बढाएको उनको भनाइ थियो।

मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनाका आधारमा मन्त्रालय विभाग र बोर्डले काम अगाडि बढाउने उनको भनाइ थियो। काठमाडौँ उपत्यकाको सम्पदा मार्ग निर्माण, सन् २०२३ देखि २०३३ सम्मलाई पर्यटन वर्षको रूपमा घोषणा गर्ने,आन्तरिक तथा बाह्य पर्यटक प्रवर्धनका लागि योजना अगाडि बढाएका छन्। 

त्यसैगरी सगरमाथा आधार शिविरको ऐतिहासिकता, वर्तमान अवस्था र भविष्यको जोखिममा सम्बन्धमा अध्ययन गर्न सगरमाथा आधार शिविर अध्ययन समिति गठन गरिने भएको छ। समितिको सुझावका आधारमा आधार शिविरको वैज्ञानिक व्यवस्थापन गरिने भएको छ। 

त्यस्तै मन्त्रालयले हिमाल आरोहणको लागि ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका थप हिमचुलीको आरोहण ६ महिनाभित्र खुला गर्ने तयार गर्ने योजना रहेको छ।

 त्यसैगरी प्रयोगमा नआएका विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याइने घोषणा  गरेको छ। काठमाडौं उपत्यकाभित्र रात्रिकालीन पर्यटनको प्रारम्भ र प्रवर्द्धन गर्न काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्रा आगामी दुई वर्षभित्र सञ्चालन गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ। 

क्लीन नेपाल, ग्रिन नेपालको अवधारणाअन्तर्गत प्रदेश, स्थानीय सरकार, नागरिक समाज र निजी क्षेत्रसँग सहकार्य गरी महत्त्वपूर्ण पर्यटकीय स्थलहरूमा राष्ट्रिय सरसफाइ एवं रङ,रोगन अभियान एक महिनाभित्र चलाउने घोषणा गरेको छ।  

TOP