नेताहरूलाई अवसर दिए छोइनसक्नु हुन्छन्, नपाए अन्त हाम फाल्छन् : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीका नेताहरूलाई अवसर नपाउँदा अर्को पार्टीमा जान थालेको गुनासो गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिमा स्वार्थ हावी हुन थालेको बताएका हुन्। 

‘अहिले मान्छेमा मैले के पाएँ भन्ने प्रवृत्ति बढेको छ। आफूले पाएको छैन भने अनुहारै अँध्यारो। पाइहाल्यो भने छोइनसक्नु हुन्छन्। आफूलाई ठुलो ठान्ने। एकपटक पाउँदा त्यो ठिक। अरूले एक पटक मात्रै पाउन थाल्यो भने त्यसलाई सकरात्मक रुपमा नलिने। राजनीतिमा यो रोग फैलिएको छ’ उनले भने, ‘कम्युनिष्ट आन्दोलनमा देखिएको यो रोग हाम्रो पार्टीभित्र पनि देखिन थालेको छ। पार्टीले सधै अवसर दियो भने पार्टी जिन्दावाद भन्ने अवसर नपाए तुरून्तै अन्त हाम हालिहाल्न थाले।’ 

पार्टीको राजनीतिक जीवन नै सक्ने यस्ताे प्रवृत्तिलाई हुर्किन दिन नहुने उनले बताए। पार्टीलाई विधि र पद्धतिअनुसार अघि बढाउनुपर्ने उनकाे भनाइ छ।  काममा गर्न सक्नेलाई प्रोत्साहन गरेर अगाडि बढाउनुपर्नेमा जोड दिए। 

‘कम्युनिष्ट पार्टीलाई जिम्मेवारीपूर्ण रूपमा हामीले बोकेर अघि बढ्नुपर्छ। समाजको परिवर्तनको बहाकलाई अगाडि बढाउन सक्नुपर्छ’ उनले भने, ‘भ्रष्टाचारको कारणले नेताहरूप्रति विश्वासका गुमाउँदै गइरहेका छन्। त्यसले हामीलाई चिन्तित बनाएको छ। हामी अरूजस्तो बन्नु हुँदैन। विरोधीको झूटा प्रचारको खण्डन गरेर अघि बढ्नुपर्छ।’

TOP