कैलालीको सामुदायिक वन उपभोक्ता समितिमा २५ लाख घोटाला, ४ जनाविरुद्ध मुद्दा

काठमाडौं :सामुदायिक वन उपभोक्ता समितिको २५ लाखभन्दा बढी रकम हिनामिना गर्ने पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। 

कैलालीको चुरे गाउँपालिका-३ स्थित गुप्तपानी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहितका ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

मुद्दाका प्रतिवादीहरु समितिका तत्कालीन अध्यक्ष मनिराम आचार्य, सचिव हिक्मतसिंह भाट, कोषाध्यक्ष पृथ्वीराज विष्ट र अडिटर गौरीप्रसाद नाथको मिलेमतोमा समूहको २५ लाख २४ हजार ३४६ रुपैयाँ अनियमितता भएको अख्तियारले पुष्टि गरेको छ। 

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनीहरूले समूहका कुनै पदाधिकारीलाई जानकारी नदिई आर्थिक वर्ष २०७२।०७३ र ०७३।०४ मा खर्च गरेको रकम साधारणसभाबाट अनुमोदन नगराई सरकारी रकम हिनामिना गरेको उजुरी परेको थियो। उजुरीमाथि अनुसन्धानका क्रममा सामुदायिक वनबाट भएका आम्दानी रकम बिल भर्पाईविना खर्च गरेको देखाई सक्कल बिल भर्पाई समेत नभएको अख्तियारले जनाएको छ। साथै नक्कली फोटोकपी बिल भर्पाईहरू राखी खाई मासेको पाइएको प्रवक्ता भण्डारीले बताए। 

अख्तियारले हिनामिना भएको रकम बराबरको बिगो कायम गरी समूहका अध्यक्ष आचार्यबाट असुल गरी कैद र जरिवाना गर्न माग गरेको छ भने सचिव भाट र कोषाध्यक्ष विष्टलाई १८ लाख ३८ हजार ३७२ रुपैयाँ बिगो कायम गरी मुख्य प्रतिवादी मनिराम आचार्य सरहको सजाय हुन माग दाबी गरेको छ। अर्का प्रतिवादी अडिटर नाथले भए गरेका कुरा लुकाई छिपाई नभएको कुरा उल्लेख गरी अडिट प्रतिवेदन पेश गरी रकम हिनामिना गर्नमा सहयोग गरेको भन्दै कैद तथा जरिवाना माग गरिएको छ।

TOP