सहकारीको करोडौँ हिनामिना गर्ने कारागार चलान


मलंगवा : सर्लाही सदरमुकाम मलंगवामा रहेको सुविधा बचत तथा ऋण सहकारी संस्थाको २४ करोड ५९ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा चारजना पुर्पक्षका लागि कारागार चलान भएका छन्।

सहकारी संस्थामा रकम हिनामिना मुद्दामा संस्थाका प्रबन्धक दीपकलाल अमात्य, खजाञ्ची निर्मलकुमार श्रेष्ठ, फिल्ड सहायक कामेश्वरप्रसाद सिंह र उमेशप्रसाद अधिकारीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश जारी गरेको सर्लाही जिल्ला अदालत, मलंगवाले जनाएको छ।

सर्वसाधारणले राखेको पैसा हिनामिना गर्ने ती चारजनालाई सर्लाही जिल्ला अदालतका ६ नम्बर बेन्चका जिल्ला न्यायाधीश चन्द्रप्रसाद पौडेलको एकल इजलासले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश जारी गरेको हो।

न्यायालयले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश जारी गरेपछि उनीहरूलाई कारागार चलान गरिएको सर्लाहीका प्रहरी नायब उपरीक्षक कैलास राईले जानकारी दिए। उनले सर्लाहीमा कारागार सञ्चालनमा नरहेकाले उनीहरूलाई सिन्धुली कारागार लगिएको बताएको छ।

संस्थाका उपाध्यक्ष जयप्रकाश अग्रवालले जिम्मेवार पदाधिकारीले सर्वसाधारणको पैसा हिनामिना गरेपछि सर्वसाधारणसँगै आफूहरू पनि संकटमा परेको बताए।

त्यसै प्रकरणमा सदरमुकाम मलंगवाका ईश्वरप्रसाद गुप्ता, रानी गुप्ता, सचिन गुप्ता र वीरेन्द्र साह तेली फरार भएको जिल्ला प्रहरी कार्यालयस्थित अपराध अनुसन्धान शाखाले जनाएको छ। उनीहरूको खोजी भइरहेको बताइएको छ।

TOP