कोशी प्रदेश : छापामार शैलीमा नाम राखिएको भन्दै धनकुटामा विरोध


विराटनगर : छापामार शैलीमा प्रदेशको नाम कोशी प्रदेशको नामकरण गरिएको भन्दै पहिचानवादी संस्थाले संयुक्तरुपमा विरोध जनाएका छन्।

आज (बिहीबार) धनकुटाको चारवटा संस्था किराँत राई यायोक्ख, किराँत याक्थुङ चुम्लङ, किराँत याक्खा छुम्मा जिल्ला कार्यसमिति र नेपाल आदिवासी जनजाति महासंघले विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्।

पञ्चायतीशैलीमा जबरजस्ती ढंगले ६ वटा प्रदेशमा शासक जातीय पहिचनामा आधारित कोशी नदीबाट कोशी प्रदेश घोषणा गर्नु नेपाली जनताको साझा नामको हवला दिएर शासक जातीय साम्प्रादायिक नाम राख्ने षडयन्त्र भएको प्रति असहमति रहेको विज्ञप्तिमा जनाइएको छ।

प्रदेश १ को नामकरण किराँत, लिम्बूवान माग गर्दै आएको आफूहरुको मागलाई नजरअन्दाज गरिएको र पहिचानविरोधी कोशी छलफल नै नगराई हतास र निरंकुश ढंगले नामकरण गराइएकोमा प्रतिकार गर्दै आन्दोलनमा होमिन बाध्य बनेको समेत विज्ञप्तिमा उल्लेख छ।

धनकुटामा आन्दोलन

पहिचानबिना नै प्रदेश १ को नाम कोशी राखिएको विरोधमा धनकुटामा प्रदर्शन गरिएको छ।

एकघण्टा चक्का जाम गरेर धनकुटामा बुधबार प्रदेशको नाम कोशी राखिएकोमा नेपाल आदिवासी जनजाति महासंघ लगायतका १५ वटा संस्थाले संयुक्तरुपमा विरोध जनाएका हुन्।

कोशी प्रदेश लेखिएको पम्पलेट जलाउदै षडयन्त्रपूर्ण ढंगले प्रदेशको नाम राखिएको भन्दै आन्दोलनमा उत्रिनु परेको नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राईले बताए।

TOP