तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने कांग्रेसको तयारी


काठमाडौं : नेपाली कांग्रेसले तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने तयारी गरेको छ। शनिबार धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले वेशाख १० गते हुने उपनिर्वाचनमा केन्द्रीय सदस्य भट्टराईलाई उम्मेदवार बनाउने संकेत गरेका हुन्।

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै रिक्त रहेको उक्त स्थानमा भट्टराईलाई उठाउने तयारी भएको हो। उनी पहिलो पटक चुनाव लड्ने तयारीमा छन्।

‘सभापतिज्यूले यस अघि नै उहाँलाई उम्मेदवार बचन दिइसक्नु भएको छ। जिल्लामा उहाँको राम्रै प्रभाव रहेकाले कसैले पनि आपत्ति जनाउनुहुन्न भन्ने विश्वास छ,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने।

सभापति देउवाले यसअघि नै भट्टराईलाई उम्मेदवार बनाउने बचन दिएका थिए। सोही अनुसार उनले सचिवालय खोलेर चुनावी गतिविधि सञ्चालन गरिरहेका छन्।

उक्त क्षेत्रमा भट्टराईसहित रामचन्द्र पोखरेल, ध्रुव वाग्ले, दीपक भट्टराईलगायत नेताहरूले पनि आकांक्षा राखिरहेका छन्।

TOP