अशक्तको आत्मबल बढाउन सगरमाथा आरोहण गर्दै हरि मगर


काठमाडौँ : संसारमा आत्मबल र आत्मविश्वास भए गर्न नसकिने कुरा केही छैन। आत्मविश्वास र आत्मबलका पर्याय हुन् हरि बुढामगर। पूर्व गोर्खा सैनिक समेत रहेका हरिका दुवै गोडा छैनन्। अहिले उनी सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न आधार शिविर गइसकेका छन्।

बेलायती सेनामा कार्यरत रहेका वेला सन् २०१० मा अफगानिस्तानको लडाइँमा उनले दुवै गोडा गुमाए। शारीरिक अशक्तता भएर पनि बुढा मगर सगरमाथा आरोहण गर्ने उत्कट चाहना पूरा गर्न सगरमाथा आरोहणका लागि तयार छन्।

विभिन्न खेलमा अन्तरराष्ट्रिय प्रतियोगितामा समेत विजयी भई अन्तरराष्ट्रिय चर्चा बटुलेका मगरले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेपालको पहिचानलाई विश्वमाझ पुर्‍याउन सगरमाथा आरोहण गर्न लागेको बताए। उनले आफूले सगरमाथा आरोहणमार्फत विश्व कीर्तिमान राख्न चाहेको बताए। उनले दुवै गोडा नभएका व्यक्तिले हालसम्म सगरमाथा आरोहण नगरेको भन्दै आफ्नो आरोहणले विश्व कीर्तिमान राख्ने र आम मानिसलाई गौरवान्वित बनाउने बताए।

उनले भने‚ ‘मेरा गोडामा कमजोरी होला। कसैको हातमा त कसैको आँखामा कमजोरी होला। त्यसो भन्दैमा हामी केही गर्न सक्दैनौँ भन्ने होइन। हाम्रो शक्तिलाई फोकस गर्नुपर्छ। हामी अपाङ्ग पनि सफल जिन्दगी बिताउन सक्छौँ। त्यो एउटा सन्देश दिनु हो। साथै सगरमाथा आरोहणको मुख्य सन्देश एउटा विश्व कीर्तिमान हुन्छ। जसले नेपाल र नेपालीलाई गौरवान्वित बनाउँछ जस्तो लाग्छ।’

उनले हरेक मानिससँग केही न केही कमजोरी भए पनि जीवनमा केही गर्न नसक्ने भन्ने नहुने बताए। उनले हीनता त्यागेर आफ्नो शक्ति केन्द्रित गर्नसके जस्तोसुकै सफलता पनि हात पर्ने बताए। उनले आफ्नो सगरमाथा आरोहणले जीवनको कुनै न कुनै सगरमाथा चढिरहेका आममानिसलाई प्रेरणा दिने उनको भनाइ छ। सगरमाथा नेपालको पहिचान र शिर भएको भन्दै यसको प्रचारलाई अझ व्यापक बनाउन आफ्नो योगदान रहने उनले उल्लेख गरे।

उनले भने‚ ‘म १९ वर्षसम्म यहीँ सगरमाथाको देशमा जन्मिएँ‚ हुर्किएँ। मैले १५ वर्षसम्म ब्रिटिस सरकारका लागि काम गरेँ। मेरो आधा युवावस्था दिएँ तर मैले मेरो देशलाई के दिएँ त ? भन्ने कुरा जहिल्यै पनि मनमा परिराख्ने। त्यो गर्दाखेरी म आफैँ र संघर्षशील भएका कारणले यसको सचेतना कत्तिको जरुरी छ, भनेर मैले बुझेको छु। सचेतना अपाङ्ग भएको व्यक्तिलाई मात्र जरुरी छैन। उसलाई साथ दिने परिवारलाई पनि कसरी सहयोग गर्नुपर्छ भन्ने सचेतना जरुरी छ।’

तत्कालीन रोल्पा निरुल गा.विस. हालको थवाङ गाउँपालिकामा जन्मिएका बुढा मगरले आफ्नो जीवनको बाल्यकाल १९ वर्षसम्म रोल्पामै बिताए। कक्षा ५ सम्मको प्रारम्भिक शिक्षा गाउँकै विद्यालयमा र कक्षा ६-७ मा रोल्पाकै कोर्चवाङमा पढे। त्यसपछि सदरमुकामबाट एसएलसी उत्तीर्ण गरी १९ वर्षको उमेरमा बेलायती सेनामा भर्ती भए। बुबाको सपना पूरा गर्न र अग्रजलाई देखेर पनि बेलायती सेनामा भर्ती भएको उनको कथन छ।

तत्पश्चात् १५ वर्षसम्म विश्वका विभिन्न देशमा शान्ति स्थापना र विभिन्न सैन्य मोर्चामा सामेल भएका उनको सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै गोडा गुमेका थिए।

त्यसपछिको दुई वर्ष उनका लागि निकै दुःखद रहे। उनले रक्सीको कुलतमा परे र आत्महत्या गर्ने खोजे। स्की, कायाकिङ, ह्वीलचेयर‚ टेबल टेनिस, आर्चरी, इम्पिटी फुलबल, सिटिङ भलिबल लगायतका खेलमा विभिन्न पदक जितेका उनी दृढ इच्छाशक्ति भएमा सबै खालका गतिविधि गर्न सकिने बताउँछन्।

उनले अपाङ्गता भएका व्यक्तिहरूप्रति समाजले हेर्ने धारणामा परिवर्तन हुनुपर्नेमा जोड दिए। परिवारले समेत अपाङ्गता भएका परिवारका सदस्यलाई बाहिर निस्किने वातावरण नबनाइदिने भन्दै त्यसो गर्नु नहुने उनको भनाइ छ।

अपाङ्गमैत्री संरचना नहुँदा अपाङ्गता भएका व्यक्तिहरूलाई समस्या परिरहेको भन्दै उनले सबै संरचना अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिए। सरकारले अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेर आत्मनिर्भर बनाउनुपर्ने उनले बताए। उनीहरूलाई राज्यले दया, माया नभई अवसर दिनुपर्नेमा उनले जोड दिए।

केही दिनमै सगरमाथा आरोहणको लागि यात्रा तय गर्न लागेका बुढा मगरले सरकारसमक्ष सहयोग गर्न नसके पनि बाधा, अड्चन नबनाइदिन आग्रह गरेका छन्।

यसअघि पनि उनले मोँ ब्लाँ (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण गरेका छन्।

उनले २०१७ मा मेरा चुचुरो आरोहण गरे र ६,००० मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडा माथि (दुवै अंगविच्छेदन) डबल एम्प्यूटी गर्ने बने। यसअघि पनि उनी सगरमाथाको आधार शिविरसम्म पुगेका छन्।

TOP