धान, गहुँ र मकैको उत्पादन नबढाएसम्म नेपाल खाद्यान्नमा आत्मनिर्भर बन्दैन : मन्त्री भुसाल


२५ असोज, काठमाडौँ : कृषि तथा पशुपक्षी विकासमन्त्री डा.वेदुराम भुसालले मुख्य बाली धान, गहुँ र मकैलाई उत्पादन नबढाएसम्म नेपाल खाद्यान्नमा आत्मनिर्भर बन्न नसक्ने बताएका छन्।

बिहीवार ललितपुरमा आयोजित विश्व खाद्य दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालले सन् २०३५ सम्म खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरेको र त्यस लक्ष्यलाई प्राप्त गर्न सबै एकजुट भएर कृषिमा सुधार गर्न आवश्यक रहेको बताए।

उनले अहिले पनि करिव १३ लाख मेट्रिक टन धान र ४ लाख मेट्रिक टन गहुँ अपुग रहेको बताए। उनले मुख्यतः धान र गहुँको उत्पादन कसरी बढाउने भन्नेमा केन्द्रित भएर छलफल गरी योजना बनाएर काम गर्न जरुरी रहेको बताए।

उनले यो वर्ष कम्तिमा पनि १ लाख मेट्रिक टन क्षेत्रफलमा चैते धान लगाउन र ६ देखि ७ लाख मेट्रिक टनसम्म धान उत्पादन गर्न आवश्यक रहेको बताए।

उनले भने, ‘हाम्रो देशमा हामीले हाम्रो खाद्य सुरक्षा मात्रै होइन, खाद्य सम्प्रभुताको विषयलाई पनि ऐन बनाएर व्यवस्थित बनाएका छौँ। धान, गहुँ र मकैलाई विशेष जोड गरेर उत्पादन गर्नुपर्छ। करिब १३ लाख मेट्रिक टन धान र ४ लाख मेट्रिक टन गहुँ अपुग छ । मकै पनि अपुग छ।’

मन्त्री भुसालले पूर्वदेखि पश्चिमका नदी प्रणालीलाई जोड्ने गरी नहर निर्माण गर्न जरुरी रहेको बताए। उनले यसका लागि बहुउद्देश्यीय योजना बनाएर अघि बढेमात्रै सोचेअनुरूपको काम गर्न सकिने बताए।

TOP