एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनीमा अवलोकनकर्ताको अभाव

धनकुटा : धनकुटा नगरपालिकाले आयोजना गरेको एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनीमा सरोकारवाला अवलोकनकर्ताको अभाव भएको छ।

प्रदर्शनीमा कृषक र उत्पादक सहभागी भए पनि व्यवसायी, विज्ञ र लगानीकर्ता भने नगण्य मात्रामा उपस्थित थिए।

२०७५ सालमा एभोकाडोको राजधानी घोषणा गरेको नगरपालिकाले विगतमा एभोकाडो महोत्सव आयोजना गर्दै आएको थियो। यो वर्ष भने एभोकाडोसहित अन्य स्थानीय उत्पादनको प्रदर्शनी आयोजना गरेको हो। प्रदर्शनीमा केही आमन्त्रित अतिथि, स्टल सञ्चालक र धनकुटा नगरपालिकाका कर्मचारी तथा पत्रकार मात्रै सहभागी थिए। स्थानीय अवलोकनकर्ताको उपस्थिति निकै पातलो थियो।

प्रदर्शनीमा कृषक तथा अनुसन्धाताको उपस्थित हुने भनिए पनि विद्यार्थीले भरिभराउ भएको थियो। नगरपालिकाले बजार क्षेत्रमा रहेका विद्यालयलाई विद्यार्थी ल्याउन भनेकाले कार्यक्रमस्थलमा विद्यार्थी उपस्थित भएका हुन्।

आयोजक धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले भने एभोकाडो सहितका स्थानीय उत्पादनहरूको प्रवर्धन तथा कृषक एवं उद्यमीलाई प्रोत्साहनका लागि प्रदर्शनी आयोजना गरिएको बताएका थिए। उनले कृषि क्षेत्रको प्रोत्साहन र बजारीकरणका लागि नगरपालिकाले योजना प्राथमिकतामा राखेको बताए।

२४ वटा स्टल धनकुटा नगरपालिकाले स्टल निःशुल्क उपलब्ध गराएको थियो। स्टलमा धनकुटा नगरपालिका क्षेत्रमा उत्पादन भएका एभोकाडो सहित विभिन्न उत्पादन प्रदर्शनीमा राखिएको थियो।

कृषकहरूले बिचौलियाका कारण आफ्ना उत्पादनको उचित मूल्य हात नपरेको गुनासो गरेका थिए।

धनकुटा नगरपालिकाले वर्षेनि एभोकाडो प्रवर्धन बजेट छुट्याइरहेको छ। धनकुटा नगरपालिकाले धनकुटालाई एभोकाडोको राजधानी घोषित गरेपछि यो क्षेत्रमा एभोकाडो खेती गर्ने किसानको संख्या बढेको थियो।

धनकुटामा हाल ४ हजार ९२६ परिवारले १२ हजार ९९ सय रोपनीमा खेती गर्दै आएका छन्। प्रदर्शनीको उद्घाटन कोशी प्रदेशसभाका सदस्य निरन राईले गरेका थिए भने कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति तथा नृत्य प्रस्तुत गरिएको थियो।

TOP