अध्यादेश नानीबाबुले घरपुतली खेले जस्तो होइन : वामदेव गौतम

काठमाडौँ : राष्ट्रियसभा सदस्य वामदेव गौतमले अध्यादेश नानीबाबुले घरपुतली खेले जस्तो विषय नभएको बताएका छन्। उनले अध्यादेश जारी गर्दा प्रतिपक्षलाई पनि साथ लिनुपर्ने बताएका छन्।

आइतवारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अध्यादेश मुख्यतः सत्ताधारीलाई सकारात्मक सहयोग पुग्ने गरी निर्माण गरिएको संवैधानिक संरचना भएको बताए। उनले प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै शर्त पूरा गर्नुपर्ने बताए।

उनले अध्यादेश जारी गर्न कुनै बार, बन्देज नरहे पनि यो नानीबाबुहरूले घरपुतली खेले जस्तो विषय नभएको बताए। उनले नेपालमा समाजवाद निर्माण गर्न सकिने र समाजवाद निर्माणको समय तोकेर जिम्मेवारी दिए आफूले पूरा गर्ने बताए। उनले पूरा नगरेको खण्डमा मृत्युदण्डका लागि तयार रहेको बताए। उनले आजको आवश्यकता समाजवाद निर्माण गर्ने भएको बताए।

गौतमले भने, ‘म अध्यादेश पक्षधर पनि होइन, विपक्षमा पनि छैन। प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै शर्त पूरा गर्नुपर्छ। यो नानीबाबुहरूले घरपुतली खेले जस्तो विषय पनि होइन। अहिले मुख्यतः हाम्रो राष्ट्रलाई चाहिएको विषय हो लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाजवाद। समाजवादको संरचना निर्माण गर्न सकिन्छ। म आफूलाई दाउमा राख्न चाहन्छु। मलाई मृत्युदण्ड दिइयोस् यदि समाजवाद निर्माण हुन सक्दैन भने। वर्ष तोकियोस्। यति वर्षभित्र समाजवाद निर्माण गर्न सकिएन भने म मृत्युदण्डमा जान तयार छु।’

उनले खिचडी राजनीतिलाई बहिष्कार गर्न सुझाव दिए।

TOP