३९७ स्थानीय तहमा अझै पुगेन स्वास्थ्य बीमा बोर्डको प्रथम सेवा बिन्दु

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न अहिलेसम्म देशभरका ३५६ स्थानीय तहमा मात्र प्रथम सेवा बिन्दु पुगेको जनाएको छ। आइतबार बोर्डको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिइएको हो।

सम्मेलनमा बोल्दै बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले ४७.७ प्रतिशत स्थानीय तहमा बोर्डको आफ्नै प्रथम सेवा बिन्दु रहेको जानकारी दिए। उनले अहिलेसम्म पनि ३९७ स्थानीय तहमा प्रथम सेवा बिन्दु नपुगेको जानकारी दिँदै ती स्थानीय तहका बिमित सेवाग्राहीहरुले नजिकैको अर्को स्थानीय तहमा गएर सेवा लिनुपर्ने बाध्यता रहेको बताए।

तुलनात्मक रुपमा शहरी क्षेत्र सुगम क्षेत्रका स्थानीय तहहरुमा बीमा सेवाको प्रथम सेवा बिन्दु धेरै पुगेको जानकारी दिए। कार्यकारी निर्देशक काफ्लेले प्रत्येक वर्ष बीमा नवीकरण नगर्ने बिमितहरुको संख्या समेत बढ्दै गएको बताए। उनका नुसार वि.स. २०७४÷०७५ मा बीमा नविकरण नगर्ने ५४ प्रतिशत, ०७८÷७९ मा ६४ प्रतिशत तथा रहेकोमा चालु आर्थिक वर्षको हालसम्मको संख्या ५४ प्रतिशत रहेको छ। एकचोटि बीमा गरिसकेपछि किन बीमा नविकरण गर्दैनन् भन्नबारे विश्लेषण गरेर समाधानको उपाय खोज्न जरुरी रहेको बताए।

उनले भने, ‘देशका ३५६ स्थानीय तहमा प्रथम सेवा बिन्दु पुगेको छ। अर्थात् ४७.२ प्रतिशत स्थानमा बोर्डको आफ्नै सेवा बिन्दु छ। ३९७ स्थानीय तह अर्थात् ५२.७ प्रतिशत स्थानीय तहमा प्रथम सेवा बिन्दु पुग्न सकेको अवस्था छैन। ती स्थानीय तहमा रहेका विमितहरुले नजिकैको अर्को स्थानीय तहमा गएर प्रथम सेवा बिन्दु लिनुपर्ने स्थिति छ। त्यसकारण ति स्थानीय तहमा बीमामा आवद्धताको विषयमा प्रश्नको विषय बनेको छ। सुविधाको अवस्थालाई विश्लेषण गर्दाखेरि सुगम स्थानीय तहमा प्रथम सेवा बिन्दुहरु पुगेको र तुलनात्मक रुपले पिछडिएका स्थानीय तहमा प्रथम सेवा बिन्दु पुग्न बाँकी रहेको अवस्था देखिन्छ।’

दोहोरोपनाको कारण विमितको यथार्थ विवरण प्राप्त गर्नसमेत कठिन भएको उनको भनाइ छ। यद्यपि स्वास्थ्य बीमा गरेका विमितहरुले स्वास्थ्य उपचार सेवा लिने क्रम बढ्दै गएको समेत उनले जानकारी दिए। लक्षित वर्गभन्दा शहर र सुगम क्षेत्रका नागरिकले धेरै स्वास्थ्य उपचार सेवा लिने गरेको बोर्डको तथ्यांक छ। थाहा खबर

TOP