बागलुङमा गत वर्ष भएका २३ दुर्घटनामा १८ जनाको मृत्यु

पर्वत : बागलुङ जिल्लामा गत वर्ष भएका विभिन्न २३ वटा दुर्घटनामा १८ जनाको मृत्यु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक गङ्गाराम बि.क का अनुसार ती दुर्घटनाहरूमा १२ जना पुरुष र छ जना महिलाहरूको निधन भएको छ। यस्तै २० जना गम्भीर घाइते हुँदा २१ जना सामान्य घाइते भएका छन्।

ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार वर्षको पहिलो महिना वैशाखमा जिप तथा कार र मोटरसाइकल दुर्घटनामा पर्दा एक पुरुष र एक बालिका गरी दुई जना गम्भीर घाइते हुँदा एक पुरुष सामान्य घाइते भएका थिए। जेठमा भएका तीन वटा दुर्घटनामा तीन पुरुष र चार महिला गरी सात जना गम्भीर घाइते भए। सोही दुर्घटनाहरूमा परी एक पुरुष, सात महिला, दुई बालक र एक जना बालिका गरी ११ जना साधारण घाइते भएका थिए।

यस्तै असारमा भएका दुई मोटरसाइकल दुर्घटनामा एक पुरुष गम्भीर घाइते भए। भदौ महिनामा एक पुरुष र दुई महिला गरी तीन जनाको निधन भयो। उक्त दुर्घटनामा एक पुरुष गम्भीर घाइते भएका थिए।

वर्षभरिमा सबैभन्दा धेरै दुर्घटना कात्तिकमा पाँच वटा भएका छन्। यो महिनामा एउटा बस, तीन वटा कार तथा जिप र एउटा मोटरसाइकल दुर्घटनामा परेका थिए। यी दुर्घटनाहरूमा परेर चार जना पुरुष र तीन जना महिला गरी सात जनाको निधन भयो भने दुई जना गम्भीर घाइते र तीन जना साधारण घाइते भए।

यस्तै मङ्सिरमा भएको भएका दुई वटा दुर्घटनामा एक पुरुषको मृत्यु भयो भने अर्का एक पुरुष गम्भीर घाइते भएका थिए। पुसमा भएका दुई वटा दुर्घटनामा परी एक पुरुषको निधन भयो भने एक पुरुष गम्भीर घाइते भएका थिए। माघमा भएको जिप तथा कार दुर्घटनामा परी दुई जना साधारण घाइते भएका थिए भने फागुनमा तीन दुर्घटनामा परी चार जनाको निधन भयो। ट्राफिक प्रहरीका अनुसार एउटा टिपर, एउटा कार तथा जिप र एउटा ट्र्याक्टर दुर्घटनामा पर्दा तीन जना पुरुष र एक जना महिलाको मृत्यु भएको थियो। सोही दुर्घटनामा पर्दा एक जना गम्भीर सहित तीन जना महिलाहरू घाइते भएका थिए।

यस्तै वर्षको अन्तिम महिना चैतमा भएका विभिन्न पाँच वटा दुर्घटनामा पर्दा तीन दुई जना पुरुषको निधन भएको छ। ती दुर्घटनाहरूमा तीन पुरुष र एक महिला गरी चार जना गम्भीर घाइते हुँदा दुई पुरुष साधारण घाइते भएका थिए।

एक वर्षको अवधिमा एउटा ट्र्याक्टर, डोजर तथा एक्स्काभेटर एउटा, बस एउटा, जिप तथा कार १४ वटा, दुई ओट ट्र्याक्टर र सात वटा मोटरसाइकल दुर्घटना भएका छन्। थाहा खबर

TOP