चार करोडको कारोबार गर्दै सकियो हेम्जाको १३ औँ आलु महोत्सव

पर्वत : कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जामा आयोजना भएको १३ औँ आलु महोत्सव चार करोडको कारोबार गर्दै सम्पन्न भएको छ।

गत चैत २४ गतेबाट सुरु भएको उक्त महोत्सवको अन्तिम दिन बुधवारसम्म ४१ लाखको आलु बिक्री सहित कुल चार करोड बराबरको कारोबार भएको हो। आयोजक विष्णुपादुका क्लबका सचिव हिकमतबहादुर थापाका अनुसार महोत्सवमा कृषितर्फका ३० तथा व्यापारतर्फका एक सय २० वटा स्टलहरूमा एक लाख बढी दर्शकहरूबाट उक्त कारोबार भएको हो।

महोत्सवमा पुगेर आलु खरिद गर्नकै लागि पोखरा महानगरपालिका सहित अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिकाबाट पनि स्थानीयको बाक्लो उपस्थिति रहेको थियो। यस्तै स्याङ्जा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बागलुङ, सुनसरी, रुपन्देही लगायतका जिल्लाबाट मानिसहरू आलु खरिदका लागि महोत्सवमा आएका थिए। महोत्सवमा आलु तथा ताजा तरकारीको वृहत् प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटबिरुवा परीक्षण तथा रोगको निदान गरिएको थियो।

महोत्सवको अन्तिम दिन बुधवार महोत्सव मूल आयोजक समिति, मनिप्लान्ट बचत तथा ऋण सहकारी एवं लायन्स क्लब अफ पोखरा आँखीझ्यालको संयुक्त आयोजना तथा क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा रक्तदान समेत गरिएको छ। जसमा एक सय एक युनिट रगत सङ्कलन भएको छ।

महोत्सव अन्तर्गत भएको रत्यौली गीत प्रतियोगितामा कमलजौंसी आमा समूह प्रथम, अभियान आमा समूह द्वितीय, सृजनशील आमा समूह तृतीय तथा हेम्जा आमा समूह र तीव्रेकोट आमा समूह सान्त्वना भएका छन्। त्यस्तै देउराली आमा समूह उत्कृष्ट भेषभुषा, जगेर्ना सुन्दुरपुरी आमा समूह उत्कृष्ट नृत्य साथै राधाकृष्ण आमा समूह मौलिक गायन प्रस्तुतितर्फ उत्कृष्ट हुँदै पुरस्कृत भएका छन्।

कृषि झाँकीतर्फ देवीस्थान भजन समूह पहिलो, नेवाः खल हेम्जा दोस्रो, सृजनशील आमा समूह सुईखेत तेस्रो साथै ओम शान्ति, लक्ष्मी आमा समूह र इन्द्रेणी आमा समूह क्रमशः सान्त्वना हुन सफल भएको महोत्सवका संयोजक वसन्तकुमार श्रेष्ठले बताए।

कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, कलाकारहरूका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि महोत्सवमा गरिएको छ।

बुधवार महोत्सवको समापन गर्दै पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले आलु महोत्सव हेम्जा तथा समग्र पोखरा क्षेत्रकै ‘ब्रान्ड’ बनेको बताउँदै स्थानीय कृषि उपजलाई प्रवर्द्धन गर्न महोत्सव सफल भएको जनाइन्। पोखरा महानगरपालिकाले पर्यटन तथा कृषिलाई सँगसँगै जोडेको उल्लेख गर्दै उपप्रमुख गुरुङले पछिल्लो पटक हेम्जा कृषि पर्यटनको हब बन्दै गएकोमा खुसी व्यक्त गरिन्।

उनले आलु महोत्सवले पोखरा भ्रमण वर्षलाई सघाएको स्पष्ट पार्दै आर्थिक चलायमानका लागि मेला महोत्सव गर्दै जानुपर्ने उल्लेख गरिन्। थाहा खबर

TOP