छानबिनमा रहनुपर्ने गृहमन्त्रीले सदनमा बोल्ने होइन, राजीनामा दिने हो : रास्वपा सांसद खनाल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले छानबिनमा रहनुपर्ने गृहमन्त्रीले संसद्मा बोल्ने नभई राजीनामा दिनुपर्ने बताएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग उनले यस्तो बताएका हुन्।

भिजिट भिसा अवैधन असुली प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले मंगलबारको बैठकमा आफूमाथि लागेको आरोपबारे प्रष्ट पार्ने बताएका थिए। तर विपक्षीहरू माओवादी, रास्वपालगायतको अवरोधले उनले बोल्न पाएनन्।

सांसद खनालले अब भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री केपी ओलीले जवाफ दिनुपर्ने बताएका छन्। ‘उहाँ (गृहमन्त्री लेखक)ले नै स्थापित गर्नुभएको संसद्मा बोलेको कुरा हो, कुनै पनि प्रकरणमा कुरा उठेपछि राजीनामा दिनुपर्छ भनेर’, उनले भने, ‘अब यसमा प्रधानमन्त्रीले जवाफ र गृहमन्त्रीले अनुसन्धानमा सघाउनुपर्छ। हामी गृहमन्त्रीलाई जवाफ दिन दिँदैनौँ। उहाँ अब छानबिनमा रहनुपर्छ।’

खनालले सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा जोडिएको विषय भएकाले उच्चस्तरीय आयोग बनाउनुपर्ने पनि दोहोर्‍याए। थाहा खबर

TOP