नेपालका लागि नेपाली जनताले गर्ने आन्दोलनलाई समर्थन गर्न राप्रपाको आह्वान

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले बिहीवारदेखि शुरु हुन लागेको व्यवस्थाविरुद्धको जनआन्दोलनमा सहभागी हुन आह्वान गरेका छन्।

बिहीवार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले यो आन्दोलन नेपालका लागि नेपाली जनताले गर्ने पहिलो आन्दोलन भएको जनाउँदै यस्तो आह्वान गरेका हुन्। उनले व्यवस्थाविरुद्धको आन्दोलन राप्रपाको मात्र नभई देशवासीको भएको उल्लेख गर्दै सहयोग र समर्थन गर्न गर्न आह्वान गरे। उनले जनताको वर्तमान अवस्थामा परिवर्तन गर्न व्यवस्था परिवर्तन अनिवार्य रहेको जिकिर गरे।

लिङदेनले भने, ‘आज पार्टीको स्थापना दिवस हो। आजबाट जनआन्दोलन प्रारम्भ पनि भएको छ। वर्तमान अवस्था परिवर्तन गर्न व्यवस्थामा परिवर्तन अनिवार्य छ। यो आन्दोलन कुनै एउटा पार्टीको मात्र आन्दोलन होइन। सम्पूर्ण देशवासीको आन्दोलन हो । नेपालका लागि नेपाली जनताले गर्ने पहिलो आन्दोलन समेत हो। त्यस कारण यो साझा आन्दोलनमा सहयोग र समर्थन गर्नको लागि हार्दिक अपिल गर्दछु।’​

राजावादी समूहले बिहीवार काठमाडौँको शान्ति बाटिका क्षेत्रमा प्रदर्शन गर्दै छ। वर्तमान व्यवस्थाको विरोधमा राजावादीले संयुक्त जनआन्दोलन समितिको अगुवाइमा आन्दोलन तय भएको हो। समितिमा राप्रपा, राप्रपा नेपालसहितका राजावादी तथा हिन्दुवादी सङ्घसंस्थाहरू रहेका छन्। थाहा खबर

TOP