सरसफाइलाई राष्ट्रिय प्राथमिकतामा राख्न सबै राजनीतिक दलहरूले प्रतिवद्धता जाहेर गर्न जरुरीः मन्त्री यादव

काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले तीनै तहका सरकारले खानेपानी क्षेत्रमा मात्रै ध्यान केन्द्रित गर्दा सरसफाइको क्षेत्र उपेक्षित भएको बताएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले यस्तो बताएका हुन्। सरसफाइको क्षेत्रलाई प्राथमिकतामा ल्याउन सबै दलहरूले राजनीतिक प्रतिवद्धता गर्न आवश्यक रहेको बताए।

मन्त्री यादवले खुला दिशा मुक्त क्षेत्र घोषणाजस्तै सरसफाइलाई समेत राष्ट्रिय अभियानको रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए। उहाँले सन् २०३० सम्म ९९ प्रतिशत जनतालाई आधारभूत खानेपानी र ९० प्रतिशत जनतालाई शुद्ध खानेपानी पुर्‍याउने सरकारको लक्ष्य रहेको समेत बताए। यद्यपि बजेटमा व्यवस्थापन गर्न नसकिए लक्ष्य प्राप्त गर्न चुनौतीपूर्ण हुने उनको भनाइ छ।

उनले अगामी आर्थिक वर्षको लागि खानेपानी मन्त्रालयले सन्तुलित रुपमा बजेट विनियोजन गरेको दाबी गरे। संघ सरकारले बजेट पठाउँदा संघीयता कार्यान्वयनको विषयलाई पनि ख्याल गर्न जरुरी रहेको उल्लेख उनले गर्दै सोही अनुरूप बजेट विनियोजन गरिएको दाबी गरे। थाहा खबर

TOP