बालेन र हर्क साम्पाङ नेतृत्वका ‘स्थानीय तह’ले कहिले ल्याउँछन् बजेट ?

श्याम राई

काठमाडौँ : स्थानीय तहमध्ये सबैभन्दा चासो र चर्चामा रहेको स्थानीय तह हुन्– काठमाडौँ महानगर र धरान उपमहानगर। स्वतन्त्र जनप्रतिनिधि काठमाडौँ महानगरमा बालेन साह र धरान उपमहानगरमा हर्कराज राई (हर्क साम्पाङ) भएकै कारण पनि यी स्थानीय तह चर्चामै छ।

उनीहरूले ती स्थानीय तहको बागडोर सम्हालिरहेका छन् तर चर्चामा रहेका दुई स्थानीय तह (काठमाडौँ र धरान उपमहानगर)ले भने हालसम्म आव २०८२।८३ को नीति तथा कार्यक्रम र बजेट नै ल्याउन सकेका छैनन्।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तर–सरकार वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा/नगरसभामा पेश गर्नुपर्ने व्यवस्था छ।

स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेश गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। तर ऐन अनुसार समयसीमा सकिएको ८ दिन बितिसक्दा पनि बजेट ल्याउन सकेका छैनन्। त्यसो त उनीहरुको आलोचना भइरहेको छ।

बरु स्वतन्त्र जनप्रतिनिधि रहेकै गोपाल हमाल नेतृत्वको कैलाली धनगढी उपमहानगरले बजेट असार ७ गते नै ल्याइसकेको छ। उपमहानगरले आव ०८२।८३ को लागि २ अर्ब ५६ करोड चार लाख ६६ हजारको बजेट ल्याएको छ।

दुई स्थानीय तहको यी विवाद

काठमाडौँ महानगरमा लामो समयदेखि ‘काठमाडौँ भ्यूटावर’ विवाद छ। यही विवादका कारण ६ महिनाभन्दा बढी समयदेखि कार्यपालिका बैठक बस्न सकेको छैन। प्रमुख बालेन साह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीच भएको त्रिपक्षीय आन्तरिक द्वन्द्व कायमै छ।

यी टकराव चलेको करिब तीन महिनापछि २९ जेठमा प्रमुख साह र उपप्रमुख डंगोलबीच भेटवार्ता भयो। छलफलपछि छिट्टै कार्यपालिका बैठक बोलाउने भनिए पनि हालसम्म बसेको छैन। प्रमुख बालेन हालका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई मान्ने पक्षमा छैनन्।

गत असोजमा ७ गते महानगरका प्रमुख प्रशासकीय अधिकृतमा पदबहाली गरेका गुरागाईंलाई पुरानो बसपार्कस्थित काठमाडौँ टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृत गरेको आरोप छ। महानगरपालिकाले उनीमाथि गत पुसमा छानबिन गर्न समिति गठन गर्‍याे। त्यसयता गुरागाईं निलम्बनमा परे।

चैत २० गते वडाध्यक्ष र कर्मचारीहरूले ताला फोडेर उनै विवादित प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालयमा छिराएका थिए। यी विवादका कारण बजेट ल्याउन सकेन। महानगरपालिका प्रमुख शाहले यसबारे हालसम्म केही बोलेका छैनन्।

उता धरान उपमहानगरमा यतिखेर ‘श्रमदानको भुक्तानी विवाद’ छ। जसकारण बजेट सार्वजनिक हुन सकेन। बजेट ल्याउने वेला धरान उपमहानगरमा पनि पुनः विवाद चर्किएको छ। यसअघि पनि विभिन्न समयमा प्रमुख हर्क साम्पाङ र उपप्रमुख अइन्द्रविक्रम बेघाबीच विवाद हुने गरेको थियो।

असार ३ गते यही विवादका कारण उनीहरूका समर्थकबीच कुटाकुट भयो। विवाद बढेपछि उनीहरूका समर्थकबीच झडप हुँदा ३ गते दिनभर नै नगर परिसर तनावग्रस्त बन्यो।

कहिले ल्याउँछन् बजेट ?

काठमाडौँ महानगरपालिकाको बजेट कहिले आउँछ भन्ने प्रश्नमा महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले अबको केही दिनमै सार्वजनिक हुने जानकारी दिए। अहिले बजेटको तयारी भइरहेको उनको भनाइ छ। ‘बजेट निर्माण काम भइरहेको छ, अब छिटै कार्यपालिका बैठक बसी बजेट सार्वजनिक हुन्छ’, उनले भने।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जालबाट बजेट ल्याउन नसक्नुको कारण बहुभाषिक पाठशाला जोगाउन श्रमदानबाट लगाइएको जाली, बगरकोटको पुल जोगाउन लगाइएको जालीको भुक्तानीबारेको असमझदारी रहेको जानकारी दिएका छन्।

उनले भनेका छन्, ‘हामीले बजेट ल्याउन नसक्नुको कारण बहुभाषिक पाठशाला जोगाउन श्रमदानबाट लगाइएको जाली, बगरकोटको पुल जोगाउन लगाइएको जाली, ठकुरी खोलाको पुल जोगाउन लगाइएको जाली र ती जालीको भुक्तानीबारे भएको घोर असमझदारी हो।’

उनले सबै जिम्मेवार नबन्दा बजेट नआएको पनि बताए। उनले यसबारे कोसिस भने जारी राखेको पनि जानकारी दिए।

धरान उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईंले यही असारभित्रै बजेट सार्वजनिक हुने गरी तयारी भइरहेको जानकारी दिए। उनका अनुसार उपमहानगरभित्रको विवाद सुल्झाउने प्रयास पनि भइरहेको छ। उनले भने, ‘असारभित्रै बजेट सार्वजनिक गर्ने गरी काम गरिरहेका छौँ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार ७५३ स्थानीय तहमध्ये ७०४ स्थानीय तहले बजेट सार्वजनिक गरी पेस गरेका छन्। अझै ४९ स्थानीय तहले बजेट ल्याएर पेस गरेका छैनन्।

TOP