स्वास्थ्य सेवा : नगरमा बाणगंगा, गाउँपालिकामा विजयनगर प्रथम

घनश्याम भर

विजयनगर, कपिलवस्तु, १७ भदौ ।

कपिलवस्तु जिल्लामा गत आर्थिक वर्षमा सम्पादन गरिएका स्वास्थ्य कार्यक्रमको समीक्षामा नगरपालिकातर्फ बाणगंगा नगरपालिका र गाउँपालिकातर्फ विजयनगर गाउँपालिका प्रथम भएका छन् । स्वास्थ्य कार्यक्रमका विभिन्न सूचक, उपलब्धी, कार्यक्रम कार्यान्वयन तथा सेवा प्रवाहका आधारमा गरिएको मूल्यांकनमा बाणगंगा नगरपालिका जिल्लाकै समग्रमा प्रथम भएको छ ।

प्रस्तुत मूल्यांकन अनुसार बाणगंगा नगरपालिकाले ७७.०२ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ । महाराजगञ्ज नगरपालिका ७०.१० अंकसहित दोस्रो र कृष्णनगर नगरपालिका ६९.५५ अंकसहित तेस्रो भएका छन् । बुद्धभूमि नगरपालिका ६६.३६ अंकसहित चौथो र कपिलवस्तु नगरपालिका ६५.४४ अंकसहित पाँचौँ स्थानमा छन् ।

गाउँपालिकातर्फ विजयनगर गाउँपालिका ६५.०१ अंकसहित पहिलो भएको छ । मायादेवी गाउँपालिका ६४.८५ अंकसहित दोस्रो र शुद्धोधन गाउँपालिका ६४.७१ अंकसहित तेस्रो भएका छन् । समग्रमा शिवराज नगरपालिका ६४.५७ अंकसहित नवौँ र यशोधरा गाउँपालिका ६४.५० अंकसहित दशौँ स्थानमा रहेका छन् ।

जिल्लाको समग्रमा बाणगंगा पहिलो, महाराजगञ्ज दोस्रो, कृष्णनगर तेस्रो, बुद्धभूमि चौथो, कपिलवस्तु पाँचौँ र विजयनगर छैटौँ स्थानमा रहेका छन् ।

विभिन्न स्वास्थ्य सूचकको अवस्था, कार्यक्रम कार्यान्वयन तथा सेवा प्रवाहलाई आधार बनाएर स्थानीय तहहरूको मूल्यांकन गरिएको हो । स्वास्थ्य सेवाको पहुँच, कार्यक्रमको प्रभावकारिता तथा स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाको अवस्थालाई समेत मूल्यांकनमा समेटिएको जनाइएको छ ।

विजयनगर गाउँपालिका डिजिटल हेल्थ टेक्नोलोजीको प्रयोग तथा कार्यान्वयनमा भने जिल्लाभरिमै उत्कृष्ट घोषित भएको छ । स्वास्थ्य सेवामा डिजिटल प्रविधिको प्रयोग, स्वास्थ्यसम्बन्धी विवरणको व्यवस्थापन तथा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने कार्यमा गाउँपालिकाले गरेको प्रगतिलाई उपलब्धिका रूपमा लिइएको गणेश स्वास्थ्य चौकीका प्रमुख तथा जनस्वास्थ्य निरीक्षक गौतम रायले बताए ।

गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा प्राप्त सफलताको श्रेय जनप्रतिनिधिको नेतृत्व, स्वास्थ्य संस्था प्रमुख तथा स्वास्थ्यकर्मीहरूको मेहनत र महिला स्वास्थ्य स्वयंसेविकाहरूको महत्वपूर्ण योगदानलाई दिएको छ । स्वास्थ्य सेवा सुधारमा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका महत्वपूर्ण रहेको विजयनगर स्वास्थ्य शाखाका प्रमुख यज्ञप्रसाद अधिकारीले जानकारी दिए ।

स्वास्थ्य क्षेत्रमा गाउँपालिकासँग सहकार्य गर्दै आएका जीआईजेड, किड्स नेपाल, सेचेन करुणा, कालिका स्वावलम्बन सामाजिक केन्द्र लगायत सहयोगी संस्थाहरूको समेत उपलब्धिमा महत्वपूर्ण योगदान रहेको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य कार्यक्रमको समीक्षाबाट प्राप्त नतिजाले स्थानीय तहहरूलाई आगामी दिनमा स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन प्रोत्साहन मिलेको छ । उत्कृष्ट नतिजा हासिल गरेका स्थानीय तहहरूले आगामी दिनमा स्वास्थ्य सेवाको गुणस्तर, पहुँच र डिजिटल प्रविधिको प्रयोगलाई थप प्राथमिकता दिने अपेक्षा गरिएको छ ।

TOP