हामीले सुशासन कायम गर्न नसक्दा जनताले चुनौती दिन थाले : एमाले सांसद पदम गिरि

काठमाडौँ : नेकपा (एमाले)का सांसद पदम गिरिले दलहरूले सुशासन कायम गर्न नसक्दा जनताले चुनौती दिन थालेको स्विकारेका छन्।

प्रतिनिधिसभाको मंगलवारको बैठकमा बोल्दै गिरिले देशमा लोकतन्त्र, गणतन्त्र र संघीयता ल्याएपछि सुशासनको पक्षमा राजनीतिक दलहरूले अपेक्षित काम गर्न नसकेको बताए।

उनले राजनीतिक दलहरूले मुलुकमा सुशासन कायम गर्न नसकेको भन्दै सिंगो संसद्‌ले समीक्षा गर्नुपर्ने वेला भएको बताए। उनले सुशासन कायम गर्न नसकेकै कारण मुलुकमा भएका परिवर्तनलाई जनताले चुनौती दिन थालेको स्विकारे।

गिरिले भने, ‘राजनीतिक दलहरूले पनि समीक्षा गरौँ। हामीले मुलुकमा सुशासन कायम गर्न नसक्दा जनतामा वितृष्णा र निराशा बढेको छ। हामीले ल्याएका परिवर्तनलाई चुनौती दिने अवस्था सिर्जना भएका छन्। यसबारे सरकार र सबै पार्टीहरूले जिम्मेवारपूर्वक सोच्नुपर्छ भन्ने म ठान्दछु।’

जनतामा बढ्दो असन्तोष र आक्रोशलाई सम्बोधन गर्न समग्र प्रणालीको पुनरवलोकन जरुरी रहेको सांसद गिरिको भनाइ छ। थाहा खबर

TOP